एक वर्षमा ९३० किलोमिटर कालोपत्रे, १०५ वटा पक्की र १० वटा बेलीब्रिज निर्माण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगत एक वर्षमा पूर्वाधार निर्माण र नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै राष्ट्रिय गौरवका आयोजनादेखि आम नागरिकले दैनिक भोग्ने समस्या समाधानसम्म महत्वपूर्ण काम भएको बताए । 

यस अवधिमा सबैभन्दा ठूलो उपलब्धिका रूपमा हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नुलाई लिइएको जानकारी दिए । उनका अनुसार योसँगै नेपालका सबै ७७ जिल्ला सदरमुकाममा यातायातको पहुँच स्थापित भएको छ । 

मन्त्री दाहालले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न यातायात पूर्वाधारको विकास अपरिहार्य छ । यो एक वर्षमा हामीले हुम्लालाई सडक सञ्जालमा जोडेर ऐतिहासिक उपलब्धि हासिल गरेका छौं ।’

मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा विगत ६ वर्षयताकै सबैभन्दा बढी ७६.४१ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको छ, जुन राष्ट्रिय औसतभन्दा करिब १३ प्रतिशतले बढी हो । 

लक्ष्यभन्दा बढी सडक कालोपत्रे भएको छ । ९३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९३२ किलोमिटर सम्पन्न भएको छ भने १०५ वटा पक्की पुल र १० वटा बेलीब्रिज निर्माण भएका छन् । 

लामो समयदेखि सर्वसाधारणले सास्ती भोग्दै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को समस्या समाधानमा पनि मन्त्रालयले महत्वपूर्ण कदम चालेको छ । अब प्रदेश स्तरबाटै लाइसेन्स छाप्ने निर्णय भइसकेको छ भने बाँकी रहेका लाइसेन्स छाप्न सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरिएको छ । साथै, नागरिक एपमार्फत नै डिजिटल लाइसेन्स देखाउन सकिने र जरिवाना तिर्न सकिने व्यवस्थाले भौतिक कार्ड बोक्नुपर्ने बाध्यता हटेको छ ।

मन्त्री दाहालले रूग्ण आयोजना व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार, रूग्ण ठेक्काको संख्या उल्लेख्य रूपमा घटाइएको छ र निर्माण व्यवसायीहरूको बक्यौता रकम भुक्तानी गरी काम गर्ने वातावरण सहज बनाइएको छ ।

यसैगरी, पूर्व-पश्चिम रेलमार्गका लागि रोक्का भएको जग्गा फुकुवा गर्ने र पानीजहाज सञ्चालनका लागि कानूनी आधार तयार पार्न ’पानीजहाज विधेयक’ राष्ट्रिय सभाबाट पारित गराउने जस्ता नीतिगत कार्यमा पनि सफलता मिलेको मन्त्रालयले जनाएको छ ।

Share News