नागढुंगा-मुग्लिङ सडकमा सुधार,अब बर्खामा यात्रुलाई सास्ती नहुने

काठमाडौं । एक वर्षअघि नागढुंगा-मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडकनिर्माणको काम तीव्र गतिमा भइरहेको छ ।  

नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ । सो सडकखण्ड निर्माण गरिरहेका निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे सो प्याकेज अन्तर्गत अहिले कालोपत्रेको काम सकिसकेको बताउँछन् । उनकाअनुसार झ्याप्ले खोलाको पोहिरो पोहोर जुन बितण्डा निम्तायो । अहिले सडक निर्माणसँगै पहिरो रोकथामको काम तीव्र गतिमा भइरहेको छ ।

काम मात्रै भएको छैन त्यो पहिरो आउनुको मुख्य कारण पनि खोजि भइसकेको छ । देशलाई नै शोकमा पार्नेगरी दशकौँ यता भएको उक्त पहिरो जानुको मुख्य कारण सडकभन्दा केही माथि घरजग्गाका लागि प्लटिङ गरिनु हो । 

निर्माण व्यवसायी घिमिरेकाअनुसार प्लटिङको माटो यत्तिकै फालिदिए । जब भारी वर्षा भयो त्यो पानीले माटो बग्यो । माटो पहिरो स्वरुप आयो र माटो लेदो भएर आयो । सडकमा कलर्भट थियो । लेदेलो कलर्भट भरिदियो । निकासी हुन पाएन । पानीले पनि कहीँ जाने निकास पाएन । सम्पूर्ण लेदो पहिरोस्वरुप आएका कारण ठूलो घटना घट्यो । 

घिमिरेकाअनुसार स्थानीयले भनेअनुसार २०५० सालमा पनि त्यहाँ ठूलो पहिरो आएर धेरै क्षती गरेको रहेछ । सडक निर्माण कार्यले गर्दा अहिले झ्याप्ले खोलामा ठूलो पहिरो आएको होइन ।  सडक भन्दा केही माथि अव्यवस्थीत तवरले गरिएको प्लटिङले गर्दा पहिरो आएको घिमिरेले बताए । उनकाअनुसार अनुसन्धान गर्दै जाँदा सडक निर्माणका क्रममा त्यसरी पहिरो गएको पाइएन ।

निर्माण व्यवसायी घिमिरेले भने–'जब झ्याप्ले खोलामा पहिरो गएर जनधनको क्षती ग¥यो अहिले पुनडिजाइन गरेर भित्ताहरुमा कडा चट्टानहरु राखेर जालि भर्ने काम भइरहेको उहाँ बताउनुहुन्छ । घिमिरेकाअनुसार झ्याप्ले खोलामा पहिरोको रुप लिइसकेको छ । अब त्यसलाई रोकथाम गर्नका लागि अहिले काम गरिरहेको निर्माण कम्पनीलाई गत चैतमा सरकारले जिम्मा दियो र अहिले यसमा काम भइरहेको छ । अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भूभागआसपासका भित्तामा बास रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।'

नागढुंगा-मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझा पनि बर्खायाममा यात्रुहरुले पाइरहेको दुःख अब छिट्टै अन्त्य हुने बताउँछन् । उनकाअनुसार नागढुंगा पूर्वी खण्ड आयोजना सडकखण्डअन्तर्गत दुईओटा प्याकेजहरु छन् ।

आयोजना प्रमुख ओझाका अनुसार नागढुंगा–मुग्लिङ सडक आयोजनालाई दुई प्याकेजमा विभाजन गरिएको छ। पहिलो प्याकेज नागढुंगादेखि नैबिसेसम्म १२.२ किलोमिटर र दोस्रो प्याकेज नैबिसेदेखि मलेखुसम्म ४३.५ किलोमिटर लम्बाइको छ । कुल ५५ किलोमिटरमध्ये हालसम्म करिब २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको उनले बताए ।

सडकसँगै निर्माणाधीन १५ पुलमध्ये ८ वटा पुलमा सवारीसाधन सञ्चालनमा आइसकेका छन् । आगामी दिनमा थप २ वटा पुल छिट्टै सञ्चालनमा आउने छन् भने बाँकी ५ वटा पुल चालु आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । ओझाका अनुसार चालु आवभित्र ५५ किलोमिटर नै पहिलो तहको कालोपत्रे गरिने योजना रहेको छ ।

हाल आयोजनाको समग्र भौतिक प्रगति ४४ प्रतिशत पुगेको छ । पहिलो प्याकेजको ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यो आयोजनाअन्तर्गत डेडिकेटेड डबल लेन सडक निर्माण भइरहेको छ । कतिपय खण्डमा बिस्तारै हिँड्ने सवारीसाधनका लागि क्लाइमिङ लेन थपेर तीन लेनको संरचना बनाइँदैछ, जसमा उकालोतर्फ २ लेन र ओरालोतर्फ १ लेन हुने व्यवस्था मिलाइनेछ । त्यस्तै बजार क्षेत्रहरूमा चारदेखि छ लेनसम्मको सडक विस्तार भइरहेको छ ।

विशेषगरी गल्छी–बैरेनी क्षेत्र अत्यधिक वर्षा र सडकमा खाल्डाखुल्डीको समस्या देखिने क्षेत्र भएकोले त्यहाँ पछिल्लो हिउँददेखि युद्धस्तरमा काम भइरहेको ओझाले बताए । 'अब यात्रुहरू हिलो र धुलोबाट मुक्ति पाउने छन्,' उनले भने, 'यद्यपि केही कामहरू अझै बाँकी छन्, तर सडक अहिले दोहोरो सवारी गुड्न सक्ने अवस्थामा पुगिसकेको छ ।'

उनले पनि गत मनसुनका घटनाहरु सडकहरुमा क्षती पुगेको  र त्यस ठाउँमा पहिरोलाई रोकथाम गर्न नयाँ प्रविधिहरु ल्याएर काम भइरहेको बताए  । यो मनसुनलाई लक्षित गरेर कामहरु तिब्र गतिमा भइरहेको छ । खोलाका कटानहरु समेत रोक्ने काम सम्पन्न भएको छ ।

उनकाअनुसार मलेखु भीरमा पनि पहिरो गएर सधैँ दुःख दिइरहने स्थानमा त्यहाँ पनि पहिरो नजानेसम्मको सतह भेटाइसकेको छ । पर्खाल लगाएर लेदो सडकमा आउन नसक्नेगरी काम भइरहेको छ ।

अहिले दैनिक १५ हजार भन्दा बढी सवारीलाई व्यवस्थापन गरेर निर्माण गर्न मुख्य चुनौतीका रुपमा देखा परिरहेको छ । यसको डाइर्भसन पनि गरिएको छैन । विपी, कान्ति राजमार्गले पनि सोचेअनुसारको सुविधा नदिएका कारण सडक निर्माणाधिन सडकमै परेको छ । दैनिक ८ घण्टा काम गर्ने समय पाउन पनि मुस्किल परिरहेको छ । यसले गर्दा सोचेअनुरुप परिणाम निस्कन सकिरहेको छैन । गाडीको चाप कम हुने समयमा काम गर्नुपरिरहेको छ । 

Share News