काठमाडों । भोटेकोशीको सहायक नदी ल्हेन्दे खोलामा आएको बाढीले करिब दुई सातादेखि अवरुद्ध स्याफ्रुबेंसी-रसुवागढी सडकखण्ड आइतबारदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
असार २४ गते राति आएको बाढीपहिरोले सडक बगाउँदा टिमुरे र रसुवागढी नाकासँगको सम्पर्क विच्छेद भएको थियो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाअन्तर्गत पर्ने उक्त खण्ड आइतबार अपराह्न ४ बजेदेखि अस्थायी रूपमा खोलिएको हो ।
सडक खुलेपछि साना तथा यात्रुवाहक सवारीसाधन चल्न थालेका छन् भने टिमुरे र रसुवागढीमा रोकिएका खाद्यान्नलगायत सामग्रीको आपूर्ति पुनः सुरु भएको छ ।
यद्यपि, भारी सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । वर्षा जारी रहेकाले सम्भावित जोखिमका कारण रात्रिकालीन समयमा पनि सवारी चलाउन निषेध गरिएकोप्रमुख जिल्ल अधिकारी पौडेलले जानकारी दिए ।
बाढीपहिरोले यस सडकखण्डको करिब १२ सय मिटर सडकमा क्षति पुर्याएको थियो । सडक विभाग र विभिन्न जलविद्युत् आयोजनाको सहकार्यमा असार २६ गतेदेखि मर्मत र नयाँ ट्र्याक खोल्ने काम थालिएको थियो ।
सबैभन्दा बढी क्षति भएको लिङलिङ भीरमा पहिरोले बगाएको १ सय २० मिटर सडक, चट्टानी भीर काटेर नयाँ ट्र्याक खोलेपछि सडक सञ्चालनमा आएको हो ।
सडक खुलाउन सडक विभागका साथै लाङटाङ भोटेकोशी, रसुवागढी र लाङटाङ जलविद्युत् आयोजनाका जेसिबी, एक्स्काभेटर, ब्रेकरजस्ता भारी उपकरण प्रयोग गरिएको थियो ।