काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जापानसँग ‘विशाल’ व्यापार सम्झौताको घोषणा गरेका छन् । जसअनुसार जापानी निर्यातमा अमेरिका प्रवेश गर्दा १५ प्रतिशत ‘पारस्परिक’ भन्सार दर लाग्नेछ । रिपोर्टअनुसार जापानी सवारीसाधनमा लाग्ने भन्सार पनि १५ प्रतिशतमा झारिनेछ ।
ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले यस सम्झौतालाई ‘सायद अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता’ भनी व्याख्या गरे । उनले भने, ‘जापानले अमेरिकाभित्र ५५० अर्ब डलर लगानी गर्नेछ र अमेरिका त्यसबाट ९० प्रतिशत नाफा प्राप्त गर्नेछ ।’
ट्रम्पका अनुसार जापानले ‘आफ्नो बजार सवारीसाधन, ट्रक, चामल, कृषि वस्तुहरू र अन्य सामग्रीका लागि खुला गर्नेछ ।’
उनले थपे, ‘यस सम्झौताले लाखौं रोजगारी सिर्जना गर्नेछ ।’
जापानले भन्सार दर घटायो
रोयटर्सका अनुसार जापानी प्रधानमन्त्री शिगेरु इसिबाले टोकियोबाट अमेरिका निर्यात हुने सवारीसाधनमा लाग्ने भन्सार दर हालको २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने बताएका छन् । सन् २०२४ मा जापानको कुल निर्यातमध्ये २८।३ प्रतिशत सवारीसाधन अमेरिका पठाइएको थियो ।
एननेक्स वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री ब्रायन ज्याकबसेनले सीएनबीसीसँग भने, ‘एक वर्षअघि १५ प्रतिशत भन्सार दर अचम्मको कुरा हुन्थ्यो। तर आज राहतको सास फेर्न सकिन्छ ।’
जापानको अमेरिका निर्यातमा आधारित अटोमोबाइल कारोबार २०२४ को जुन महिनामा २६.७ प्रतिशतले घटेको थियो, जबकि मे महिनामा यो गिरावट २४.७ प्रतिशत थियो ।
जनवरीदेखि जुनसम्म अमेरिका पठाइएको कुल जापानी सामानको मूल्य १०.३ ट्रिलियन येन (७०.३४ अर्ब डलर) पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशत कम हो ।
घोषणापछि जापानका मुख्य व्यापार वार्ताकार रियोसेई अकाजावाले एक्स (पुरानो ट्वीटर) मा ‘मिसन अकम्प्लिश्ड’ लेख्दै सम्झौतामा संलग्न सबैलाई धन्यवाद दिए ।
ट्रम्पले ट्रुथ सोशलमा पोस्टपछि दिएको सम्बोधनमा भनेका छन्, ‘हामी जापानसँग तरल प्राकृतिक ग्याससम्बन्धी छुट्टै सम्झौता पनि टुंग्याउँदैछौं ।’
‘हामीसँग युरोप सम्झौता पनि भोलि आउँदैछ, उनले थपे । तर उनले थप विवरण भने खुलाएनन् ।
राजनीतिक संकटको बीचमा सम्झौता
यो सम्झौता जापानको सत्तारूढ गठबन्धनले माथिल्लो सदनको बहुमत गुमाएपछि आएको हो, जसले प्रधानमन्त्री इसिबाको नेतृत्वलाई सुदृढ पार्न सक्ने विश्लेषण गरिएको छ ।
हालै इसिबाले भनेका थिए कि उनी प्रधानमन्त्रीको रूपमा रहने छन्, तर जापानको माइनिची समाचारपत्रका अनुसार उनले अगस्टभित्र राजीनामा दिने तयारी गरिरहेका छन् ।
यामियोरी पत्रिकाका अनुसार इसिबा भन्सार वार्ताको प्रगति मूल्यांकन गरेपछि मात्र आफू बस्ने वा नबस्ने निर्णय गर्नेछन् ।
एचएसबीसी बैंकले दिएको टिप्पणीमा भनिएको छ, ‘प्रधानमन्त्री इसिबाका लागि यो अनुकूल अमेरिकी व्यापार सम्झौताले अविश्वास प्रस्ताव वा पार्टीभित्रको चुनौतिबाट जोगिन मद्दत गर्न सक्छ ।’
सम्झौतापछि जापानी सेयर बजार उकालो लाग्यो । निक्केई २२५ सूचकांक २ प्रतिशतभन्दा बढीले बढ्यो भने प्रमुख अटो कम्पनीहरूको सेयरमा तीव्र वृद्धि आयो ।
टोयोटामा ११ प्रतिशत, होन्डामा ८ प्रतिशत, निसानमा ८ प्रतिशत, माज्डाका मोटर्स १७ प्रतिशत र मित्सुबिसी मोटर्समा १३ प्रतिशतले वृद्धि भएको छ ।
ट्रम्पले यसअघि जापानलाई पठाएको पत्रमा अगस्ट १ बाट जापानी निर्यातमा २५ प्रतिशत भन्सार दर लगाउने चेतावनी दिएका थिए ।
विसडमट्रीका ग्लोबल मुख्य लगानी अधिकृत जर्मी श्वार्ट्जका अनुसार बजारमा देखिएको तीव्र प्रतिक्रिया यसको संकेत हो कि पहिले बजार अत्यधिक निराशावादी थियो ।