काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कको गद्दी अहिले संकटमा परेको छ । यस वर्ष उनको नेटवर्थमा ५९.४ अर्ब डलरको गिरावट आएको छ । यति ठूलो गिरावट आए पनि उनी अझै पनि ३७३ अर्ब डलर नेटवर्थका साथ पहिलो स्थानमा कायम छन् । तर यो अवस्था चाँडै परिवर्तन हुन सक्छ ।
यो परिवर्तनको कारण सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक ल्यारी इलिसन हुन्, जसको नेटवर्थ तीव्र गतिमा बढिरहेको छ ।
ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स अनुसार मंगलबार एकैदिन इलिसनको नेटवर्थ २८.४ अर्ब डलरले बढेको छ । यससँगै उनको नेटवर्थ २८९ अर्ब डलर पुगेको छ । यदि यस्तै गति कायम रह्यो भने उनी आगामी तीन दिनमै एलन मस्कलाई उछिनेर पहिलो स्थानमा पुग्न सक्छन् ।
हाल मस्क र इलिसनबीच ८४ अर्ब डलरको अन्तर छ । इलिसनको नेटवर्थ यस वर्ष मात्रै ९६.८ अर्ब डलरले बढिसकेको छ । ८० वर्षीय इलिसनसँग ओरेकल कम्पनीको करिब ४० प्रतिशत सेयर स्वामित्व छ ।
झण्डै ३७ वर्षसम्म कम्पनीको बागडोर सम्हालेपछि उनले २०१४ मा सीईओ पदबाट राजीनामा दिएका थिए । साथै उनी डिसेम्बर २०१८ देखि अगस्ट २०२२ सम्म टेस्लाको बोर्ड सदस्य पनि थिए । इलिसनले सन् २०१२ मा हवाई द्वीपमा ३०० मिलियन डलरमा एउटा टापु किनेर २०२० देखि त्यहाँ स्थायी रूपमा बसोबास गर्न थालेका छन्।
धनीहरूको सूचीमा अरू पनि फेरबदल भएका छन् । फेसबुकको मूल कम्पनी मेटा प्लेटफम्र्सका सीईओ मार्क जुकरबर्ग अब चौथो स्थानमा झरेका छन् । मंगलबार उनको नेटवर्थमा २।७९ अर्ब डलरको गिरावट आएर कुल नेटवर्थ २४८ अर्ब डलरमा झरेको छ । यसैबीच अमेजनका संस्थापक जेफ बेजोस २४९ अर्ब डलर नेटवर्थका साथ तेस्रो स्थानमा पुगेका छन् ।