काठमाडौं । नेपालले दिगो जलविद्युत् विकासतर्फ उल्लेखनीय प्रगति गर्दै माईबेनी (९.५१ मेगावाट), चुवा खोला क्यास्केड (९८.१७ मेगावाट) र अपर चुवा लुरुप्या खोला (११०.२० मेगावाट) जलविद्युत् आयोजना इन्टरनेशनल हाइड्रोपावर एशोसिएसनद्वारा प्रदान गरिने ब्लु प्लानेट पुरस्कार २०२५ को लागि योग्य घोषित भएका छन् ।
१४ विश्वस्तरीय आयोजनामध्ये तीन नेपाली आयोजना छनोटमा परेकाले नेपालले ऊर्जा पूर्वाधारमा दिगोपनालाई प्राथमिकता दिएको र अन्तर्राष्ट्रिय वातावरणीय तथा सामाजिक मापदण्डमा प्रतिबद्धता जनाएको प्रमाणित भएको छ ।
पुरस्कारको घोषणा सेप्टेम्बर ९-१०, २०२५ मा युनेस्को भवन, पेरिसमा आयोजना हुने ‘इन्टरनेशनल फोरम अन पम्प्ड स्टोरेज हाइड्रोपावर’ मा गरिनेछ ।
आइएचएका सीईओ एडी रिच भन्छन्, 'नेपालका धेरै आयोजना एचएसएस को मापदण्ड अनुसार अगाडि बढ्दै जानु सराहनीय छ । नेपाल जलविद्युत् विकासमा तीव्र गतिमा अगाडि बढिरहेको छ र तीन आयोजना ब्लु प्लानेट पुरस्कारको लागि योग्य ठहरिनु भनेको दिगोपनालाई केन्द्रमा राखिएको प्रमाण हो ।'
माईबेनी आयोजनाले गोल्ड सर्टिफिकेशन प्राप्त गरेको छ, भने चुवा खोला क्यास्केड र अपर चुवा लुरुप्या आयोजना 'सर्टिफाइड स्ट्याटस' मा परेका छन् । थप चार नेपाली आयोजना हाल औपचारिक मूल्यांकन प्रक्रियामा छन्।
उप-कार्यकारी निर्देशक एलेन किलाजियन ले नेपालका परियोजनाहरूमा देखिएको समुदायसँगको विश्वास निर्माण, जलवायु अनुकूल संरचना र भ्क्न् जोखिमको व्यवस्थापन प्रेरणादायी रहेको बताए ।
उर्जा डेवलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेल भन्छन्, 'वातावरणीय, सामाजिक र सुशासन पक्षलाई रणनीतिमा समेट्नु अब विकल्प होइन, उत्तरदायित्व हो । ब्लु प्लानेट अवार्डका लागि माईबेनी आयोजना योग्य हुनु गर्वको कुरा हो ।'
उपाध्यक्ष सुशिल पोखरेलले भने, 'नेपालले अपनाएको हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्डले स्वच्छ, पारदर्शी र समावेशी ऊर्जा विकासको मार्ग दक्षिण एसियालाई देखाएको छ ।'
नेपालले ऊर्जा आत्मनिर्भरता, वातावरणीय संरक्षण र सामाजिक समावेशीतालाई सँगै लिएर दिगो भविष्य निर्माणतर्फ अग्रसर भइरहेको छ । नदीहरूको सदुपयोग गर्दै नेपालले अबको पुस्ताका लागि स्वच्छ ऊर्जा र समृद्धिको आधार तय गर्दैछ ।