काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैंअघि नै सञ्चालन गर्ने गरी ल्हेन्दे खोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् ।
त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु बेसी-रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिए ।
गत असार २४ मा ल्हेन्दे खोलामा उर्लिएको बाढीले नेपाल-चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो ।
‘गल्छी-रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ,’ मन्त्री दाहालले भने, ‘रसुवातर्फ स्याफ्रु बेसी-रसुवागढी सडक खण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।’
मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीब्र पार्न निर्देशन दिए । नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि ध्यान दिन उनको भनाइ छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनिया पक्षसँग समन्वय गरि चीन तर्फ रोकिएका नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए ।