काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले आफ्नो विद्युतीय गाडी (ईभी) को पोर्टफोलियो विस्तार गर्दै नयाँ ‘बी १०’ एसयूभी सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो गाडी चीन बाहिर विश्व बजारमा पहिलो पटक नेपालबाट लन्च गरिएको हो ।
कार्यक्रममा बोल्दै सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालले लिपमोटरका नयाँ उत्पादनहरू विश्व बजारमा सबैभन्दा पहिले पाउने अवसर पाएकोमा खुशी व्यक्त गरे।
उनले भने, ‘यसअघि सी १० मोडल जस्तै बी १० को पनि चीनपछिको पहिलो अन्तर्राष्ट्रिय लन्च नेपालमा गर्न पाउँदा हामीले निकै भाग्यमानी महसुस गरेका छौं । यसले नेपाली बजारप्रति कम्पनीको विश्वास र प्राथमिकतालाई देखाउँछ ।’
लिपमोटर बी १० आफ्नो मूल्य श्रेणीमा उत्कृष्ट फिचरसहित आएको कम्पनीको दाबी छ । यसमा १६० किलोवाटको शक्तिशाली मोटर र ६७.२ किलोवाट–आवरको ब्याट्री प्याक जडान गरिएको छ ।
कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ६०० किलोमिटरसम्मको रेन्ज दिन्छ भने यसको डब्लूएलटीपी प्रमाणित रेन्ज ४६० देखि ४८० किलोमिटर रहेको छ ।

डिजाइनको हिसाबले यो गाडी सी १० भन्दा पनि बढी आकर्षक रहेको र यसमा पोर्शेका डिजाइनबाट प्रेरित केही अंशहरू देख्न सकिने गोल्छाले जानकारी दिए । यो गाडी विशेष गरी युरोपेली तथा विश्व बजारका लागि डिजाइन गरिएको हो र यसले युरोपेली सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको पनि उनले बताए ।
गाडीको मूल्य नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने बताइएको छ । सांग्रिला मोटर्सले सन् २०१७ मा पुजो ब्रान्डबाट नेपाली बजारमा प्रवेश गरेको थियो । त्यसपछि कम्पनीले सिट्रोन र २०२२ मा लिपमोटर ब्रान्डलाई नेपालमा भित्र्याएको हो ।
लिपमोटर विश्वको चौथो ठूलो अटोमोबाइल निर्माता ‘स्टेलान्टिस ग्रुप’ अन्तर्गतको ब्रान्ड हो, जसले जीप, फियाट, मसेराटी जस्ता १४ भन्दा बढी चर्चित ब्रान्डहरूको स्वामित्व राख्छ ।
नेपालमा लिपमोटरले एक वर्षभन्दा कम अवधिमा राम्रो बजार बनाउन सफल भएको छ । यसअघि लन्च गरिएको सी १० मोडेल २०० युनिटभन्दा बढी बिक्री भइसकेको छ । बी १० को आगमनले नेपाली ईभी बजारमा प्रतिस्पर्धा थप बढाउने विश्वास कम्पनीले लिएको छ ।