काठमाडौं । इटालियन लक्जरी स्पोट्र्स कार निर्माता लाम्बोर्गिनीले बुधबार पहिलो छ महिनामा कीर्तिमानी गाडी बिक्री भए पनि सञ्चालकीय आम्दानी अलि घटेको जनाएको छ । जसको मुख्य कारण विनिमय दरमा आएको प्रतिकूल असर हो ।
कम्पनीका अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा सञ्चालन आम्दानी ४३१ मिलियन युरो (४९७ मिलियन डलर) रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको ४५८ मिलियन युरोको तुलनामा कम हो । यसमा दोस्रो त्रैमासिकमा देखिएको प्रतिकूल विनिमय दर प्रमुख कारण हो। ।
‘वैश्विक आर्थिक र राजनीतिक अस्थिरताको बाबजुद पनि नतिजा ठोस छन्,’ लाम्बोर्गिनीका सीईओ स्टेफान विन्केलम्यानले भने ।
कम्पनीको कुल आम्दानी १.६२ अर्ब युरो पुगेको छ, जबकि ५ हजार ६८१ वटा गाडी बिक्री गरिएको थियो– यो पहिलो छ महिनामा अहिलेसम्मकै उच्च हो । लाम्बोर्गिनी जर्मन कम्पनी फक्सवागन समूहअन्तर्गत पर्छ ।
यद्यपि सञ्चालन नाफाको मार्जिन २८.३ प्रतिशतबाट घटेर २६.६ प्रतिशतमा झरेको छ ।
विन्केलम्यानका अनुसार सबै मोडेललाई हाइब्रिड बनाउने निर्णय सही साबित भएको छ । उनले भने, ‘हाम्रो हाइब्रिड रणनीतिलाई ग्राहकहरूले साथ दिएका छन् ।’
इटालीको उत्तरमा पर्ने बोलोनीयाको छेउमा रहेको लाम्बोर्गिनीले भने युरोपेली संघ (ईयू) र अमेरिकाबीच हालैको व्यापार सम्झौतामा कुनै टिप्पणी गरेको छैन, जसले अधिकांश युरोपेली वस्तुहरूमा अमेरिकाले १५ प्रतिशत आयात महसुल लगाउने निर्णय गरेको हो । पहिलो छ महिनामा कम्पनीको ३० प्रतिशत गाडी अमेरिका महादेशमा (१ हजार ७३२ गाडी) बिक्री भएको थियो ।
त्यस अवधिमा युरोप, मध्यपूर्व र अफ्रिकामा २ हजार ७०८ गाडी बिक्री भएको थियो जबकि एशिया प्यासिफिक क्षेत्रमा १ हजार २४१ गाडी बिक्री गरिएको थियो।
यस वर्षको सुरुमा विन्केलम्यानले भनेका थिए कि अमेरिकी महसुलले लाम्बोर्गिनीको आम्दानीमा असर पर्नेछ, यद्यपि लक्जरी उत्पादन निर्माता कम्पनीहरूले त्यो अतिरिक्त लागत ग्राहकहरूमाथि सार्न सक्छन् ।
ब्याट्रीमा चीनमाथिको निर्भरता घटाउँदै टेस्ला, एलजीईएससँग ४.३ अर्ब डलरको सम्झौता