आर्थिक समृद्धिका लागि थानकोट–चित्लाङ सडक छिटो सम्पन्न गर्न मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । बिहीबार सो सडकको निरीक्षण पछि उनले काठमाडौं जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धीको सहयोगी समेत बन्न सक्ने बताए । 

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने विश्वास व्यक्त गरे । निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न समेत निर्देशन दिए । 

उनले विकासका संरचनाहरूले नागरिकको जीवनमा समृद्धी ल्याउन सक्नु पर्ने बताए । यो सडक समेत आर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनु पर्ने बताए । 

यस्तै सोहि क्षेत्रका प्रतिनिधी सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौंबासीका लागि मात्र नभई पूर्वी नेपाल सहित बाग्मती, मधेस र लुम्बिनी सँगको सम्पर्कका लागि समेत यो सडक महत्वपूर्ण रहेको बताए । यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक विना अवरोध र ढिलाई जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा जोड दिए । 

सडक विभागका महानिर्देशक डा. विजय जैसीले भने कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताएका छन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढि सकेको छ । 

अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवजार खतिवडा, बुद्धिजीवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया लगायत सहभागी रहेका थिए । सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक ८.५ किमि काठमाडौं र बाँकी मकवानपुरमा पर्दछ ।

Share News