इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेका गरी कुल ६४ जना सांसदको समर्थन जुटाउँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन् ।

बानियाँअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा यस प्रदेशमा मुख्यमन्त्री भइसकेका छन् । मकवानपुर निवासी बानियाँ, सोही जिल्लाबाट दोस्रोपटक मुख्यमन्त्री बन्ने नेताका रूपमा चिनिएका छन् । यसअघि डोरमणि पौडेल पनि मकवानपुरबाटै नियुक्त भएका थिए ।

निर्माण व्यवसायी पृष्ठभूमिका बानियाँ मकवानपुरको कम्युनिस्ट प्रभाव क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद थिए ।

संघीय सरकारमा उनी २०७३ सालमा गृह राज्यमन्त्री र त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारीमा थिए । पछि मन्त्रालयको जिम्मेवारी राप्रपामा सरेपछि उनलाई गृह राज्यमन्त्री बनाइएको थियो ।

२०७४ सालदेखि कार्यान्वयनमा आएको संघीय संरचनाअन्तर्गत प्रदेशसभा निर्वाचनमा सहभागी भएका बानियाँ त्यसयता कांग्रेस संसदीय दलका नेता समेत रहे । अघिल्लो कार्यकालमै मुख्यमन्त्री बन्ने प्रयास गरेका उनले त्यसबेला सफलता पाएका थिएनन् ।

प्रदेशसभाको वर्तमान कार्यकालमा भने बानियाँले दलको नेताबाट बहादुरसिंह लामालाई विस्थापित गर्दै पुनः नेतृत्वमा फर्किएका हुन् । लामाले मुख्यमन्त्रीको रूपमा असफलता भोगेपछि बानियाँ नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । १३ साउनमा भएको मतविभाजनमा २२ मतले प्रस्ताव पारित भएसँगै लामाले पद गुमाएका थिए ।

कांग्रेसकै लामा आइतबार पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र दर्ता गरिएको थियो । त्यसपछि प्रदेश प्रमुखले मङ्गलबार दिउँसो २ बजेसम्म सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका थिए ।

बानियाँले आह्वान भएको करिब आधा घण्टामै कांग्रेसका ३७ र एमालेका २७ जना सांसदको समर्थनसहित सरकार गठनको दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद आवश्यक पर्दछ ।  

Share News