काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा १३३.९५ प्रतिशतले बढेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो । कम्पनीको संचालन मुनाफा पनि ५४ करोड ३० लाखबाट बढेर ८९ करोड २१ लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब ३५ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँ पुगेको छ ।
माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार लाभांश दिदै आएको छ ।