काठमाडौं । अस्ट्रेलियाको डार्विनस्थित डिएक्ससी एरिनामा शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टिमले टप इण्ड टी २० मा आफ्नो पहिलो खेल खेल्दैछ ।
पहिलो खेलमा नेपाल घरेलु टिम नर्दन टेरीटोरी स्ट्राइक विरुद्ध प्रतिस्पर्धामा उत्रिन लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
डेब्यू जितको लक्षसहित अष्ट्रेलियन टोलीसँग आमनेसामने हुँदै गरेको नेपाली टोली आईसीसी टी २० विश्वकप छनोटको तयारी स्वरूप प्रतियोगितामा सहभागिता भएको हो ।
यो प्रतियोगिता नेपालका लागि अस्ट्रेलियामा पहिलो आधिकारिक अन्तर्राष्ट्रिय सिरिज हो । प्रतियोगितालाई आगामी टी २० विश्वकप क्वालिफायरको तयारीको रूपमा हेरिएको छ ।
उक्त सिरिजमा नेपालसहित पाकिस्तान शाहीन्स, बंगलादेश ए, अमेरिकी क्लब शिकागो किङ्ग्समेन र अष्ट्रेलियाका बिबिएल फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले आजको खेलपछि १६ अगस्टमा बंगलादेश ए र १८ अगस्टमा मेलबर्न स्टार्स एकाडेमीसँग खेल्नेछ । कुल ६ खेलको राउन्डरबिन चरणपछि शीर्ष ४ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुवर्ड लले यसअघि नै रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए ।
नेपाली टोलीमा कप्तान पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, आरिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र अहाब आलम रहेका छन् ।