रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागार, भैरहवाबाट स्थानान्तरण गरी काठमाडौं ल्याइँदैछ ।

लामिछानेलाई कारागारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बुद्ध एअरको उडान प्रयोग गरी काठमाडौं सारिने भएको हो । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि उनी गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका थिए ।

उनले नख्खु कारागारमा स्थानान्तरणका लागि गत जेठमै निवेदन दिएका थिए । अदालतले अनुमति दिएपनि तत्काल गृह प्रशासनले रोकेको थियो । यसबारे रास्वपाले संसद्मै आवाज उठाएको थियो भने पत्नी निकिता पौडेलले अन्तर्राष्ट्रिय मानवअधिकार निकायमा जाने चेतावनी दिएकी थिइन्।

मानव अधिकार आयोगले केही दिनअघि गरेको अनुगमनमा लामिछानेले भैरहवामा ज्यानको असुरक्षा महसुस भएको बताएका थिए । त्यसपछि सरकारमाथि बढेको दबाबका कारण कारागार व्यवस्थापन विभागले स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

लामिछानेलाई स्थानान्तरण गर्ने खबर सार्वजनिक भएपछि भैरहवा कारागार अगाडि रास्वपाका नेता-कार्यकर्ता भेला भएका थिए ।

Share News