काठमाडौं । इलाममा एक वर्षमा दुइवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवा खोला र जोगमाइ खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई-तिल्केनी सडक अन्तर्गत माइजोगमाई गाउँपालिका-४ र इलाम नगरपालिका-१० जोड्ने जोगमाइ खोला र केचना-कञ्चनजङ्गा (मेची करिडोर) सडक अन्तर्गत इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो ।
जोगमाइ खोलामा १ करोड ९१ लाख २१ हजार ६३२ रुपैयाँ लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो भने पुवा खोलामा १ करोड ४३ लाख ७६ हजार २९७ रुपैयाँ लागतमा ४८.६ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो ।
सोही आर्थिक वर्षमा सक्ने गरी सम्झौता भएको कल्भर्ट निर्माणाधीन अवस्थामा छ । केचना-कञ्चनजङ्गा सडक अन्तर्गत ठाडे खोलामा १ करोड ८५ लाख ७ हजार ५३८ रुपैयाँ लागतमा डबल सेल बक्स कल्भर्ट निर्माण भइरहेको छ । कृष्ण/डाइमन/अभ्युदय जेभीले निर्माणको जिम्मा पाएको कल्भर्ट सम्झौता अवधिमा सम्पन्न नभएपछि एक पटक म्याद थप गरिएको घिमिरेले जानकारी दिए ।