काठमाडौं । खतिवडा सेवा समाज नुवाकोट र ग्रीनसिटी अस्पताल, काठमाडौंबीच स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार समाजका सदस्य र उनका परिवारका सदस्यहरूले ग्रीनसिटी अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन् ।
यसले सदस्यहरूलाई गुणस्तरीय उपचार सहज र किफायती दरमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
समझदारी अनुसार खतिवडा सेवा समाजले आफ्ना सदस्यहरूलाई सदस्यता कार्ड उपलब्ध गराउनेछ र सोही कार्डका आधारमा अस्पतालका सेवामा विशेष सुविधा प्राप्त गर्न सकिनेछ । साथै, समाजले अस्पताललाई आफ्नो स्वास्थ्य साझेदार भनेर घोषणा गर्दै अस्पतालका कार्यक्रमहरूको प्रवर्द्धन गर्ने जिम्मेवारी लिनेछ । स्वास्थ्य शिविर सञ्चालनमा अस्पतालले प्राविधिक व्यवस्थापन गर्ने भने समाजले समग्र व्यवस्थापन गर्नेछ ।
यो सम्झौता भदौ १ गतेदेखि लागू भई दुई वर्षसम्म रहने व्यवस्था गरिएको छ । आवश्यक परेमा दुवै पक्षको सहमतिमा यसलाई थप अवधि बढाउन वा संशोधन गर्न सकिनेछ ।
समझदारीपत्रमा हस्ताक्षर गर्दै खतिवडा सेवा समाज नुवाकोटका अध्यक्ष विकास खत्रिवडाले आफ्ना सदस्यहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो कदमले सदस्यहरूलाई ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, ग्रीनसिटी अस्पताल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनले आपसी सहकार्यले समाजका सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउने बताए ।
समाज र अस्पताल दुवैले यस सम्झौतालाई सदस्यहरूको स्वास्थ्य र कल्याणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।