उपेन्द्र यादवको प्रश्न : दासढुंगा र दरबार हत्याकाण्ड कसले गरायो ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपालमा कतिपय घटना रहस्यमय घटनाको रुपमा रहन पुगेको बताएका छन् ।

अध्यक्ष यादवले दरबार हत्याकाण्ड, दासढुंगा काण्ड कसले गरायो भन्ने प्रश्न अझै अनुत्तरित रहेको बताएका हुन् । उनी भन्छन्, ‘कतिपय कुराहरु नेपालमा रहस्यमय छ । दरबार हत्या काण्ड कसले गरायो ? दासढुंगा काण्ड कसले गरायो ? धेरै कुराहरु अझै पनि अज्ञान नै रहेको छ ।’

दरबार हत्याकाण्डबारे अध्यक्ष यादव प्रश्न गर्छन, ‘देशको राष्ट्र प्रमुख, त्यो पनि त्यत्रो सुरक्षाभित्र घटना घट्यो, कसरी घट्यो । कसले घटायो ?’ नेपालमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरु हुने गरेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘यो मुलुकमा कसैले सोच्दै नसोचेको, चिताउँदै नचिताएका कुराहरु पनि हुँदो रहेछ । अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन त सजिलो कुरा हो । तर त्यसको अनुसन्धान त भइसकेको छ नी । एउटा होइन, चार-चार वटा राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरिसक्यो, प्रतिवेदन दिइसक्यो । यो कुनै नयाँ कुरा त होइन ।’

गौरको घटनामा आफ्नो कुनै संलग्नता नरहेको पनि उनको दाबी छ । ‘त्यहाँ माओवादीका छापामारले आक्रमण गर्दा त हाम्रा मान्छे भागिसेकेका थिए । उनीहरू हतियारसहित थिए, हाम्रा मान्छेसँग केही थिएन’, उनले भनेका छन्, ‘तर बिसौं हजार जनता गाउँका थिए ।’

गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभूवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो ।

२०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए । 

Share News