भारू २ सय, ५ सय र २ हजारका नोटमा प्रतिबन्ध, ५ हजार डलरभन्दा बढी बोक्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सार घोषणा गरेर मात्रै विदेशी मुद्रा कारोबार गर्न आग्रह गरेको छ । ५ हजार अमेरिकी डलर भन्दा बढी नगद विदेशी मुद्रा नेपालमा भित्र्याउँदा र नेपालबाट बाहिर लैजाँदा भन्सार घोषणा गर्नुपर्ने राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको हो ।

राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रुपैयाँ (भारू) सम्म र राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबरसम्म) भन्सार घोषणा बिना नेपालमा भित्र्याउन सक्छन् ।

तर, ५ हजार अमेरिकी डलरभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउन राष्ट्र बैंकले जनाएको छ । 

यसअघि पनि राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारसँग सम्बन्धि विसं २०७५ असार ३२ गते र विसं २०७५ चैत २६ गते सूचना जारी गरेको थियो । साथै विसं २०७५ पुस २३ गते राजपत्रमा सूचना ( खण्ड ६८, संख्या ४७, भाग ५) जारी गर्दै कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० भारतीय रुपैयाँ दरका नोटको कारोबार गर्न तथा २००, ५०० र २००० भारतीय रुपैयाँ दरका नोट साथमा राख्न, ओसार पसार गर्न र कारोबार गर्न नपाइने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । 

साथै नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । 

Share News