एमाले केन्द्रीय कमिटीको बैठक स्थगित

काठमाडौं । नेकपा एमालेले भदौ १३ गतेका लागि तय गरेको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो विधान महाधिवेशनको तयारी पूरा नभएका कारण बैठक सारिएको हो ।

उनले भदौ १७ वा १८ गते बस्नेगरी बैठक सारिएको जानकारी दिए ।

भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने महाधिवेशनमा लैजाने प्रस्तावहरूमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

तर, ती प्रस्तावका दस्तावेजहरू अझै छपाइ नभएकाले छलफल गर्न आवश्यक सामग्री अभावका कारण बैठक सारिएको उनले जानकारी दिए ।

पार्टीका एक पदाधिकारीका अनुसार बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरूलाई समय व्यवस्थापनमा समस्या पर्ने भएकाले पनि बैठकको मिति पछि सारिएको हो । 

उनीहरू भदौ १३ मा काठमाडौं आएपछि २० सम्म यहाँ बस्न नसक्ने र फेरि जिल्लाबाट आउन दौडधूप पर्ने हुँदा बैठक सारिएको बताइएको छ ।

Share News