भूमि समस्या समाधान उच्च प्राथमिकतामा छ: मन्त्री बलराम अधिकारी

काठमाडौं । संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले धनुषाको विदेह नगरपालिकाको इटहर्वामा आयोजित एक समारोहमा सो पालिकाका १,१०० जनालाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरेका छन् । 

नापी कार्यालय धनुषाद्वारा आयोजित सो कार्यक्रममा गाउँब्लक जग्गाधनी दर्ता प्रमाण-पूर्जा वितरण गरिएका हुन् । मन्त्री अधिकारीले वडा नं. १ देखि ९ सम्मका नागरिकहरूलाई लालपुर्जा हस्तान्तरण गरेका थिए । 

समारोहमा मन्त्री अधिकारीले भूमि समस्या समाधान संघीय सरकारको एक्लो प्रयासले सम्भव नहुने भन्दै तीनै तहका सरकारबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गरे । उनले आगामी तीन वर्षभित्र भूमिहीन, सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बासोबासीको समस्या समाधान हुने आश्वासन पनि दिए । 

मन्त्री अधिकारीले भूमि आयोगको कामलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सरकार भूमि समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताए । 

त्यस अवसरमा संघीय सांसद रामकृष्ण यादवले जनताको हकहितको विषयमा राजनीति वा भेदभाव नगर्नुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा विदेह नगरपालिकाका नगरप्रमुख वेचन दासले नापी कार्यालयबाट खटिएका केही कर्मचारीहरूले लालपुर्जा बनाउने र सर्वेक्षणको क्रममा सर्वसाधारणलाई दुःख दिएको तथा गैरकानुनी रूपमा रकम माग्ने गरेको गुनासो गरे । 

Share News