डिशहोम र चन्द्रागिरी हिल्सबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत छुट सुविधा

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको छ । यस साझेदारीअन्तर्गत सक्रिय डिशहोम ग्राहकहरूले चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् ।

काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरी हिल्स सहजै पुग्न सकिने पर्यटन गन्तव्य मानिन्छ । डिशहोमसँगको यो सहकार्यपछि ग्राहकहरूले छुटसहित चन्द्रागिरीको अनुभव लिन सक्ने अवसर पाउने भएका छन् ।

कम्पनीका अनुसार ग्राहकहरूले छुट पाउनका लागि ‘माइ डिशहोम एप’ प्रयोग गर्नुपर्नेछ । एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लग–इन गर्न सकिन्छ । त्यसपछि होमपेज वा प्रोफाइल सेक्सनमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर चन्द्रागिरी केबलकार टिकट खरिद गर्दा छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यस सम्झौतामा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौता अवसरमा डिशहोमका सीईओ तारा मानन्धरले यो साझेदारीले ग्राहकलाई केवल डिजिटल सेवामा मात्र सीमित नगरी नेपालका उत्कृष्ट पर्यटन अनुभवमा पनि छुटसहित पहुँच दिने बताए । 

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत हाल डाइनिङ, आतिथ्य, यात्रा, मनोरञ्जन र लाइफस्टाइल क्षेत्रमा विभिन्न छुट उपलब्ध छन् । कम्पनीले आगामी दिनमा थप शीर्ष ब्रान्डहरूलाई पनि यस योजनामा सहभागी गराउने लक्ष्य लिएको छ ।

Share News