भदौ १४ गते चीन भ्रमणमा जाँदै ओली, सी जिनपिङ र मोदीसँग भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने भएका छन् । उनी सांघाई सहयोग संगठन (एससीओ)को २५औं शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् ।

उक्त भ्रमणमा प्रधानमन्त्री ओलीले त्यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेट्ने तय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

भारत, इरान, काजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ राष्ट्र एससीओको सदस्य रहेका छन् । शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिनमा हुँदै छ ।

नौ सदस्य राष्ट्रका राष्ट्र वा सरकार प्रमुख सहभागी रहने एससीओमा अफगानिस्तान, बेलारुस र मंगोलिया गरी तीन राष्ट्र पर्यवेक्षक रहेका छन् ।

एससीओमा नेपाल, अजरबैजान, अर्मेनिया, बहराइन, इजिप्ट, कम्बोडिया, कतार, कुवेत, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, टर्की र श्रीलंका गरी १४ राष्ट्र डायलग पार्टनर रहेका छन् ।

सम्मेलनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन जाने कार्यक्रम रहेको छ । 

ओलीले भारत र चीनबाहेक अन्य देशका राष्ट्र वा सरकार प्रमुखसँग पनि भेट्ने कार्यक्रम तय भएको छ ।

Share News