एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ?

एनभीडीयाका सीईओ जेन्सेन हुआङ । फाइल तस्बिर

काठमाडौं । एनभीडीयाले बुधबार आय र आम्दानी दुबै क्षेत्रमा विश्लेषकहरूको अनुमानभन्दा राम्रो नतिजा सार्वजनिक गर्यो । यस त्रैमासिकमा बिक्री वृद्धि ५० प्रतिशतभन्दा माथि रहने अनुमान गरिएको छ, जसले वाल स्ट्रिटलाई कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारको माग अझै पनि उच्च रहेको संकेत दिएको छ ।

तर, २०२४ मा करिब तीन गुणा बढेको र यस वर्षमात्रै ३५ प्रतिशत उकालो लागेको सेयर विस्तारित कारोबारमा घट्यो, किनभने कम्पनीको डेटा सेन्टर आम्दानी लगातार दोस्रो त्रैमासिकमा अपेक्षाभन्दा कम रह्यो ।

विश्लेषकहरूको अनुमानसँग तुलना गर्दा कम्पनीको नतिजा 

प्रति सेयर आम्दानी (ईपीएस) : १.०५ (समायोजित) र १.०१ (अनुमानित)

आम्दानी ४६.७४ अर्ब र ४६.०६ अर्ब (अनुमानित)

एनभीडीयाले यो त्रैमासिकमा ५४ अर्ब डलर आम्दानी हुने अनुमान गरेको छ (२ प्रतिशत वृद्धिदर), तर यसमा चीनतर्फ एचटुओ चिपको ढुवानी समावेश गरिएको छैन । विश्लेषकहरूले ५३.१ अर्ब आम्दानी हुने अनुमान गरेका थिए ।

२०२६ को दोस्रो त्रैमासिक नतिजाले एनभीडीयाको डेटा सेन्टर व्यवसाय विश्वव्यापी एआई विस्तारको केन्द्रमा रहेको पुष्टि गरेको छ । वित्त प्रमुख कोलेट क्रेसले भनेअनुसार दशकको अन्त्यसम्म एआई पूर्वाधारमा ३ देखि ४ ट्रिलियन डलरसम्म खर्च हुने अनुमान छ ।

आम्दानी वृद्धि

एनभीडीयाको कुल आम्दानी गत वर्षको ३०.०४ अर्बबाट ५६ प्रतिशत बढेर ४६.७४ अर्ब पुगेको छ । लगातार नौ त्रैमासिकदेखि वार्षिक आम्दानी वृद्धि ५० प्रतिशत माथि छ, जुन सन् २०२३ को मध्यदेखि जेनेरेटिभ एआईको माग बढ्न थालेयता देखिएको हो । तर, यस अवधिमा यो सबैभन्दा सुस्त वृद्धि भएको त्रैमासिक हो ।

सीईओ जेन्सेन हुआङले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि एनभीडीयाले चीनतर्फ एचटुओ चिप पठाउन अमेरिकी अनुमति पाउने अपेक्षा गरेको थियो । तर यो प्रोसेसर वाणिज्यिक (व्यवसायिक ढंगले बजारमा बिक्री वा कारोबार गर्न मिल्ने अवस्था) रूपमा उपलब्ध नभएको कारण कम्पनीलाई ४.५ अर्बको घाटा भयो र करिब ८ अर्ब आम्दानी गुम्यो ।

यस त्रैमासिकमा चीनलाई एचटुओ चिप पठाउन नसके पनि चीनबाहिरका एक ग्राहकलाई १८० मिलियन बराबरको एचटुओ स्टक बेचेको कम्पनीले जनाएको छ । क्रेसका अनुसार यदि भूराजनीतिक परिस्थिति अनुकूल भए एनभीडीयाले यस त्रैमासिकमा २ देखि  ५ अर्बसम्म एचटु‌ओ चिप पठाउन सक्छ ।

शुद्ध नाफा ५९ प्रतिशत बढेर २६.४२ अर्ब (प्रति सेयर १.०५) पुगेको छ, जुन गत वर्षको १६.६ अर्ब (प्रति सेयर ६७ सेन्ट) थियो ।

डेटा सेन्टर व्यवसाय

एनभीडीयाको डेटा सेन्टर व्यवसाय जसले जीपीयू र त्यसलाई जोड्ने/चलाउने अन्य उत्पादनहरूमा केन्द्रित छ, गत वर्षको तुलनामा ५६ प्रतिशत बढेर ४१.१ अर्ब पुगेको छ, तर विश्लेषकहरूको ४१.३४ अर्ब अनुमानभन्दा कम रह्यो ।

३३.८ अर्ब जीपीयू चिप बिक्रीबाट (गत त्रैमासिकको तुलनामा १ प्रतिशत घटेको)

७.३ अर्ब नेटवर्किङ पार्ट्स बिक्रीबाट (गत वर्षको भन्दा लगभग दोब्बर)

ठूला क्लाउड प्रदायकहरू (मेटा, अल्फाबेट, माइक्रोसफ्ट, अमेजन) एनभीडीयाको डेटा सेन्टर बिक्रीको करिब आधा हिस्सा बनाउँछन् । उनीहरूले अहिले कम्पनीको नयाँ ब्लाकवेल चिप खरिद गरिरहेका छन् ।

ब्लाकवेल चिप बिक्री गत त्रैमासिकको तुलनामा १७ प्रतिशत बढेको छ । मे महिनासम्म नयाँ प्रोडक्ट लाइनले २७ अर्ब आम्दानी गरेको थियो, जसले कुल डाटा सेन्टर आम्दानीको ७० प्रतिशत हिस्सा ओगटेको छ ।

अन्य व्यवसायहरू

गेमिङ डिभिजन : ४.३ अर्ब आम्दानी, गत वर्षभन्दा ४९ प्रतिशत वृद्धि 

रोबोटिक्स डिभिजन : ५८६ मिलियन आम्दानी, वार्षिक आधारमा ६९ प्रतिशत वृद्धि

कम्पनीले अतिरिक्त ६० अर्ब मूल्यको सेयर पुन: खरिद योजनालाई स्वीकृति दिएको छ, जसको समयसीमा छैन । यस त्रैमासिकमा मात्र कम्पनीले ९.७ अर्ब बराबरको आफ्नै सेयर पुन: खरिद गरेको छ ।

चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा

Share News