एक वर्षभित्र एक खर्ब लगानी भित्र्याउन सीईओ ज्ञवालीलाई कार्यादेश

काठमाडौं । सरकारले लगानी बोर्डलाई चालु आर्थिक वर्षभित्र एक खर्ब रुपैयाँको लगानी प्रतिवद्धतासहित सम्झौता गर्न कार्यादेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई चालु आर्थिक वर्ष २०८२/८३ भित्र एक खर्ब रुपैयाँको लगानी सम्झौता गर्न कार्यादेश दिएका हुन् । 

बोर्डका सीईओ ज्ञवालीले आफूलाई सरकारले एक सय अर्बको लगानी सम्झौता गर्न निर्देशन दिएको जानकारी गराए । सुदू/पश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले आफूलाई दिएको जिम्मेवारीको विषयमा जानकारी गराएका हुन् ।

‘यस वर्ष सरकारले मलाई एक सय अर्बको लगानीको सम्झौता गर्न कार्यादेश दिएको छ, जसरी पनि त्यो लक्ष्य पूरा गर्नुपर्नेछ,’ उनले भने, ‘सो लक्ष्यमा सफल हुनका लागि पनि विभिन्न प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्नुपर्नेछ।’

उनले विभिन्न प्रदेशमा हुने लगानी सम्मेलनमा आफ्नो पूर्ण साथ र सहयोग रहने पनि जानकारी दिए । आगामी मंसिर १ र २ गते सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन गर्दैछ । सो सम्मेलनमा सहभागी सुदूरपश्चिममा लगानी गर्न प्रदेश सरकारले सबै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेको छ । 

सोही लगानी सम्मेलनलाई केन्द्रित गरेर आयोजना गरेको बिहीबारको अन्तरक्रिया कार्यक्रममा  बोल्दै सीईओ ज्ञवालीले सुदूरपश्चिम प्रदेश सरकारलाई विभिन्न सुझाव पनि दिएका छन् । 

उनले लगानीकर्तालाई आकर्षित गर्न नीतिगत र कानुनी स्पष्टता हुनु पर्ने धारणा राखे । नीतिगत स्पष्टताबिना लगानीकर्ता लगानी गर्न नरुचाउने उनको भनाइ छ । 

यस्तै, उनले सार्वजनिक निजी साझेदारी मोडेल पनि बुझ्न आवश्यक रहेको बताउँदै तीनवटै सरकारले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे । 

उनले लगानीकर्तालाई लगानीका लागि आकर्षित गर्न संस्थागत संरचना  र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै लगानीकर्तालाई दिइने प्रोत्साहन, सेवा सुविधा तथा सहुलियतका विषयमा पनि सुरुमै प्रष्ट पार्नुपर्ने बताए ।

‘सेकसम्म एकद्वार प्रणाली र एकल बिन्दु सेवा केन्द्रको विकास गरेर  संस्थागत समन्वय गर्नुपर्छ, अहिले लगानी गर्न चाहे पनि जग्गा तथा वनको लगायतको समस्याले लगानीकर्तालाई निरुत्साहित बनाइरहेको छ,’ उनले भने । 

कार्यक्रममा व्यवसायीहरूले पनि सुदूरपश्चिममा किन लगानी गर्ने, प्रदेशमा रहेका सम्भावना लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

Share News