माछा उत्पादन बढेपनि आयातमा निर्भर, एक जनाले खान्छ साढे ११ केजी माछा

काठमाडौं । कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछा पालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपत अनुसारको उत्पादन पर्याप्त हुन सकेको छैन । 

किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन् । दुवै प्रकारका माछा पालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताए ।

आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा २ हजार ४४२ हेक्टर क्षेत्रफलमा पोखरी बनाएर कार्प जातको माछा पालन गरिएको थियो । त्यसअघि आव २०८०/८१ मा २ हजार १६ हेक्टर क्षेत्रफलमा मात्र माछा पालन गरिएको उनले बताए । कार्प जातका माछाको उत्पादन बढेको छ । उक्त माछा आव २०८०/८१ मा ९ हजार ३७७ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०८१/८२ मा उत्पादन बढेर ११ हजार ७६ मेट्रिक टन पुगेको छ ।

उपभोक्ताले रुचाउन माछाको अर्को जात पङ्गासको पनि उत्पादन र माछा पालन क्षेत्रफल दुवै वृद्धि भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएअनुसार आव २०८१/८२ मा पङ्गास माछा कोशी प्रदेशमा ३ हजार ३९९ मेट्रिक टन उत्पादन भएको थियो । जबकि आव २०८०/८१ मा यो माछा २ हजार ३६६ मेट्रिक टनमात्र उत्पादन भएको थियो ।

निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा आव २०८१/८२ मा पङ्गास माछा पालन गरिएको पोखरीको सङ्ख्या ४१३ र आव २०८०/८१ मा मात्र ४०५ रहेको थियो । आव २०८१/८२ मा यो माछा पालन भइरहेको क्षेत्रफल ११० हेक्टर र आव २०८०/८१ मा ७८ हेक्टर रहेको थियो ।

पहाडमा बग्ने सफा पानीमा पालिने रेन्बो ट्राउटको माछा पालन भने घटेको छ । आव २०८०/८१ मा ४३ वटा पोखरीमा यो माछा पालन गरिएको थियो भने आव २०८१/८२ मा घटेर २९ भएको निर्देशनालयले जनाएको छ ।

कोशी प्रदेश सरकारले माछा पालनमा जोड दिँदै आएता पनि आवश्यकता धान्ने गरी उत्पादन बढाउन सकेको छैन । मत्स्य विकास अधिकृत लिम्बूले प्रदेशमा प्रतिव्यक्ति वार्षिक ११ केजी ५०० ग्राम माछा उपभोग हुने गरेको बताए ।

जबकि आव २०८०/८१ मा उत्पादनको उपलब्धता वार्षिक प्रतिव्यक्ति १ केजी ८०० ग्राम र आव २०८१/८२ मा २ केजी २६० ग्राम रहेको उनले बताए । प्रदेशमा खपत भए अनुसारको उत्पादन बढाउन नसक्दा अझै पनि भारतबाट आयातित माछामा निर्भर हुनुपर्ने बाध्यता छ । कोशी प्रदेशका ५६ वटा सिमसार पोखरीमा माछा पालन गरिएको छ ।

Share News