काठमाडौं । घर निर्माणलाई भरपर्दो, सुरक्षित र दिगो बनाउन आवश्यक सम्पूर्ण जानकारी एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यसहित पोखरामा आयोजित ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न भएको छ ।
स्किल सेवाको आयोजनामा पोखरा–१० स्थित अमरसिंह चौरमा दुई दिनसम्म चलेको फेस्टको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरेका थिए । आयोजकले पाँच हजार दर्शकको अपेक्षा गरे पनि ६ हजारभन्दा बढीले फेस्ट अवलोकन गरेको जनाइएको छ ।
फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुविद्, विद्यार्थी र सर्वसाधारणले सहभागी भई घर निर्माणसम्बन्धी विविध जानकारी लिएका छन् । साथै ७ सय जनाले विशेषज्ञ प्राविधिकबाट निःशुल्क परामर्श प्राप्त गरेका आयोजकले बताएका छन् ।
आयोजक शताक्षी मिश्रका अनुसार फेस्टमार्फत निर्माण गर्दा खर्च कम गर्ने उपाय, गुणस्तरीय इटा, डन्डी, सिमेन्ट, टायल्सदेखि ग्लाससम्म कुन प्रयोग गर्ने भन्नेबारे प्रष्ट जानकारी दिइएको थियो । मजदुर व्यवस्थापन, डिजाइन, निर्माण अवधिको योजना, फ्लोरिङदेखि अन्तिम चरणसम्मको ‘स्टेप–बाइ–स्टेप’ प्रक्रिया पनि प्रस्तुत गरिएको उनले बताइन् ।
अर्का आयोजक समन कुँवरले फेस्ट घर निर्माणसम्बन्धी एकीकृत प्लेटफर्म भएको उल्लेख गर्दै आधुनिक प्रविधि, मापदण्ड र दक्ष जनशक्ति प्रयोगबारे सरोकारवालालाई जानकारी दिने उद्देश्य रहेको बताए । उनका अनुसार ऊर्जा बचत, खुला स्थानको उपयोग, आधुनिक–पारम्परिक डिजाइन र लगानीका अवसर उजागर गर्न फेस्ट प्रभावकारी भएको छ ।
स्किल सेवाका सीईओ रमेश तिमिल्सिनाका अनुसार फेस्टमा निर्माणसम्बन्धी कम्पनी र बैंकसहित ३२ स्टल राखिएका थिए । उनले घर निर्माण गर्दा न्यून खर्चमै सुरक्षित र दिगो बनाउन सकिने तरिका, इन्टेरियरका सामान सुपथ मूल्यमा उपलब्ध भएको तथा सरोकारवालालाई प्रत्यक्ष लाभ पुगेको जानकारी दिए ।