काठमाडौं । झापा मेचीनगरको चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटी लगायतबाट एक वर्षमा १ करोड ४२ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको छ ।
पूर्व पश्चिम राजमार्गसँग जोडिएको मेचीनगर-१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथीभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ ।
समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१/८२ मा दान पेटिकाबाट ७४ लाख ७४ हजार रुपैयाँ, सहयोग रसिदबाट ४४ लाख ४१ हजार रुपैयाँ, जिन्सी सामान बिक्रीबाट १२ लाख ३८ हजार रुपैयाँ र आजीवन सदस्यताबाट ८८ हजार रुपैयाँ आम्दानी भएको बताए ।
बैंकमा रहेको बचतको ब्याज बापत ५ लाख ६० हजार रुपैयाँ, अनलाइनमार्फत आय २ लाख ५४ हजार रुपैयाँ र विविध आम्दानी बापत ३० हजार ७२० रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए ।
प्रसिद्ध पाथीभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौँ भक्तजन आउने गर्छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसामलगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन् । समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंकमार्फत् नै खर्च गर्दै आएको जनाएको छ ।
आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ ।
मन्दिरको शौचालय, धाम परिसरमा मार्बल तथा टायल्स बिछ्याउने कार्य र एउटा भवनसमेत बनाउँदा सो आवमा ५७ लाख रुपैयाँ खर्च भएको समितिका अध्यक्ष ढकालले बताए । मन्दिरको नाममा १ करोड १२ लाख २१ हजार रुपैयाँ बैंक मौज्दात रहेको छ । समितिले चार गुरुसहित ९ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ ।