चिनियाँ राष्ट्रपति सी जिनपिङले मोदीलाई भने– ‘ड्रागन र हात्ती मिल्नु धेरै जरुरी’

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटमा ड्रागन र हात्तीको साथ आउनु धेरै जरुरी रहेको बताएका छन् ।

सी चिनफिङले भने, ‘विश्व परिवर्तनतर्फ अघि बढ्दैछ । चीन र भारत संसारका दुई सबैभन्दा पुराना सभ्यताहरू हुन् । हामी दुवै संसारकै सबैभन्दा बढी जनसंख्या भएका देश हौं र ग्लोबल साउथको हिस्सा हौं ।’

चीनी राष्ट्रपतिले भने, ‘दुवै देश मित्र बनेर रहनु, राम्रो छिमेकी हुनु र ड्रागन र हात्तीको सहकार्य हुनु धेरै जरुरी छ ।’

यसअघि प्रधानमन्त्री मोदीले पनि सोही बैठकमा भारत र चीनका सम्बन्धलाई एक सकारात्मक दिशा मिलेको बताएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार तियानजिन पुगेका हुन् । २०१८ पछि प्रधानमन्त्री मोदीको यो पहिलो चीन भ्रमण हो ।

गत वर्ष भारत र चीनबीचको द्विपक्षीय व्यापार करिब १२७.७ अर्ब अमेरिकी डलरको रहेको थियो ।

चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म शाङ्घाई को–अपरेसन अर्गनाइजेशन (एससीओ) को बैठक भइरहेको छ । यसमा मोदी र सी जिनपिङसँगै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी भएका छन् ।

Share News