काठमाडौं । मानव अंग मिर्गौला बेचबिखनमा संलग्न ७ जनाको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार भारतको नयाँ दिल्लीमा बसेर गैरकानूनी रूपमा मिर्गौला प्रत्यारोपणमा संलग्न सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनका सहयोगी सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरिएको हो । सो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङलगायतका जिल्लाका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली पुर्याई मिर्गौला झिक्ने र बिक्री गर्ने कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।
यसअघि गत साउन २० गते यसै प्रकरणमा ३ जना पक्राउ परिसकेका थिए । हालसम्म ५ जना पीडितले जाहेरी दिइसकेका छन् । अनुसन्धानमा यो गिरोहले संगठित रूपमा नेपालका विभिन्न जिल्लाका आर्थिक रूपले कमजोर नागरिकलाई लोभ देखाई भारतमा लैजाने र त्यहाँ गैरकानूनी रूपमा मिर्गौला प्रत्यारोपण गर्ने कार्य गर्दै आएको पाइएको छ ।
प्रहरीले ‘अपरेसन शिल्ड’ नामक अभियानमार्फत अनुसन्धान अघि बढाएको छ । हालसम्म ४ वटा मुद्दा दर्ता भइसकेका छन् र संगठित अपराध ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।
एसएसपी पंगेनीका अनुसार संगठित अपराध ऐनअन्तर्गत मानव बेचबिखन वा गैरकानूनी रूपमा अंग बेचबिखनमा संलग्न दोषीलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । पक्राउ परेका अभियुक्तहरूमाथि सोही प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।