दशैँमा भाडा नबढाउन मन्त्री र सचिवको निर्देशन, बुकिङ नखोल्ने व्यवसायीको चेतावनी

काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं आउन अब एक महिना मात्रै बाँकी छ । अहिले देशका विभिन्न सहरमा बसेकाहरू आफ्नो गाउँघर फर्किने तरखरमा छन् । हरेक वर्ष दशैंको समयमा लाखाैं यात्रुहरूले काठमाडाैं उपत्यका छाड्छन् । 

दशैंको बेला हरेक वर्ष सवारी व्यवस्थापनमा समस्या हुने गरेको छ । यस वर्ष पनि विगतमा जस्तै दशैं नजाकिँदै गर्दा सार्वजनिक यातायातको भाडा दर र टिकट बुकिङलाई लिएर सर्वसाधारणमा अन्योलता सिर्जना भएको छ । 

सरकारले यसवर्ष दशैंमा सार्वजनिक यातायातको भाडा नबढाउने निर्णय गरेको छ भने यातायात व्यवसायीहरूले लामो समयदेखि हुन नसकेको भाडा समायोजन हुनुपर्ने माग राखेका छन् । 

भाडा समायोजनमा सरकार र यातायात व्यवसायीबीच तालमेल मिल्दैन । हालसम्म गाडीको टिकट खुलाउनेबारे सरकार र व्यवसायीहरूबीच कुनै छलफल भएको छैन । सरकार र व्यवसायीबीच भाडा समायोजनको विषयलाई लिएर आ-आफ्ना अडान राख्दा अग्रिम टिकट बुकिङ कहिले खुल्छ भन्ने विषय अनिश्चित बनेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश भट्टराईका अनुसार भाडा दर नबढाउने मन्त्रीस्तरीय निर्णय भइसकेको छ ।

‘भाडा नबढ्ने भनेर मन्त्रीज्यू र सचिवज्यूबाट निर्देशन आएको छ, दशैं र चाडपर्वपछि मात्रै यसबारे थप छलफल होला,’ उनले भने । 

दशैंका लागि टिकट बुकिङ खुला तथा यसबारे यातायात व्यवसायीहरूसँग निर्णय गर्ने तयारी भइरहेको उनको भनाइ छ । तर, यातायात व्यवसायीहरू भने सरकारको भाडा दर नबढाउने निर्णयप्रति असन्तुष्ट देखिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले ऐन, नियम र कानुन अनुसार नै भाडा समायोजन हुनुपर्ने बताए ।

‘भाडा समायोजन गर्नुपर्ने समय भएको धेरै भइसक्यो । सरकार दशैंको बेलामा मात्र तात्ने तर अरू बेला वास्ता नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘हामीले आफै भाडा बढाउने होइन, तर सरकारले नीतिगत रूपमा समायोजन गर्नुपर्छ । टिकट बुकिङ कहिले ? भाडा दरको टुंगो नलाग्नु र तयारी पूरा नहुनुले अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।’

व्यवसायीहरूका अनुसार सडकको अवस्था, सवारी साधनको व्यवस्थापन र भाडा दरबारे सरकारसँग निर्णायक छलफलपछि मात्र बुकिङ खुला गरिनेछ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकट खोल्नुभन्दा मुख्य कुरा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु रहेको बताउँछन् । उनका अनुसार सरकारसँग छलफल नभई बुकिङ खुल्दैन।

सिटौलाका अनुसार सवारीसाधन पर्याप्त छन्, तर सडकको अवस्था खराब छ । तर दशैंमा यात्रुको चाप थेग्न सवारीसाधन पर्याप्त छन् वा छैनन् भन्नेमा व्यवसायीको मत बाझिएको छ । 

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा. डोलनाथ खनालले देशभर करिब साढे चार लाख सार्वजनिक सवारीसाधन रहेको र यात्रुका लागि पर्याप्त हुने दाबी गर्छन् । यद्यपि अन्य व्यवसायीहरू भने दशैंको चापलाई धान्न जहिले पनि सवारीसाधन अपुग हुने गरेको बताउँदै आएका छन् । 

अध्यक्ष खनालका अनुसार सवारीसाधनको संख्याभन्दा पनि सडकको दुरावस्था मुख्य चुनौती छ । उनले हाल देशभरको सडक सञ्जालको अवस्था भद्रगोल भएको बताए । ‘गाडी पर्याप्त भए पनि बाटो सहज नहुँदा समयमा आवतजावत हुन सक्दैन, जसले गर्दा व्यवस्थापनमा समस्या आउँछ,’ उनले भने, ‘सरकारले समयमै सडक मर्मत र सुधार गर्नुपर्छ ।’ 

दशैंको समयमा व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको गुनासो हरेक वर्ष आउने गर्छ । तर, व्यवसायीहरू यस आरोपको खण्डन गर्छन् । 

‘सरकारले तोकेको भन्दा एक रुपैयाँ बढी भाडा लिने काम हुँदैन । यो एउटा आरोप मात्र हो,’ अध्यक्ष डोलनाथ खनालले भने । 

सरकार र यातायात व्यवसायीबीच भाडा दरमा सहमति जुट्न नसक्दा र सडकको अवस्थाबारे स्पष्ट नहुँदा यो वर्षको दशैं यात्रा पनि अन्यौलपूर्ण बन्ने देखिन्छ ।

Share News