काठमाडौं । गङ्गा सोनाम नेपाल आइडल सिजन-६ को विजेता बनेकी छिन् । आइतबार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता बनेकी हुन् । विजेता सोनामले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।
त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौ भए । विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गरे ।
‘नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँ नयाँ प्रतियोगिताहरु सुरु भएका छन् । नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रुपमा रहनेछ,’ उनले भने ।
ललितपुर महानगर प्रमुख चिरी बाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे । एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले ६ वटा सिजनसम्म पुग्दा नयाँ नयाँ प्रतिभाहरूको जन्म भएको उल्लेख गरे ।
२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन-६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल छन् । ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुति मिनल मानन्धर, तेस्रो प्रस्तुति गङ्गा सोनाम, चौथो प्रस्तुति दर्शना गान्धारी र पाँचौँ प्रस्तुति अभिनय खातीले प्रस्तुत गरेका थिए ।