काठमाडौं । बीपी राजमार्गमा आज भदौ १६ गतेदेखि थप १५ दिन सवारीसाधन गुडाउन रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकामा भदौ मसान्तसम्म राति १२ घण्टा सो कार्यमा रोक लगाइएको हो ।
जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले उक्त राजमार्गमा प्रत्येक दिन साँझ ५ बनेदेखि बिहान ५ बजेसम्म यात्रु वाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । कार्यालयले सो राजमार्ग अन्तर्गत जिल्लाको काभ्रे भञ्ज्याङदेखि सिन्धुली-सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाउने निर्णय गरेको हो ।
कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद् जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लिखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपीलसमेत गरेको छ ।
काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । यस्तै काठमाडौंबाट जाने सवारीसाधनलाई काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ ।
गत साल असोजको बाढी पहिरोले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको आठ किलोमिटर सडक खण्डमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।
बाढी पहिरोले राजमार्गको कुल १६० किलो मिटरमध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको छ ।