काठमाडौं । एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । उक्त आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।
आयोजनामा सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड रुपैयाँ, सानिमा बैंक र सिद्धार्थ बैंकले समान १/१ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् ।
सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इभेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कूल ९ अर्ब ६० करोड रुपैयाँ लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने प्रबन्ध निर्देशक नेपालले जानकारी दिए । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गरिनेछ ।
नदी प्रवाही प्रकृतिको सो आयोजनाबाट उत्पादित बिजुली बाफिकोट सवस्टेशनको जोडिनेछ । आयोजनाबाट वार्षिक रुपमा २८३.३७ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ मा विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ ।