काठमाडौं । धनुषाका १७ वर्षीय अभियन्ता तथा कन्टेन्ट क्रिएटर कृष यादवले गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्राप्त गरेका छन् । ललितपुरको द प्लाजामा आइतबार आयोजित समारोहमा ग्लोकलले यादवलाई यो सम्मान प्रदान गरेको हो ।
ग्लोकल टिन हिरो नेपाल पहलले शैक्षिक क्षेत्रभन्दा बाहिर असाधारण उपलब्धि हासिल गरेका किशोर–किशोरीलाई सम्मान गर्दै उनीहरूको प्रतिभा र सिर्जनशीलतालाई उजागर गर्ने काम गर्दै आएको छ । यस वर्षको प्रतिस्पर्धामा यादवसहित शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरू थिए, जसमा मानुषी न्यौपाने (स्याङ्जा), निश्चल ढुङ्गाना (कपिलवस्तु), अक्सफोर्ड आचार्य (जुम्ला), रेनुका सिंह (सर्लाही) र सफल पौडेल (रूपन्देही) समावेश थिए ।
कृष यादव सामाजिक विषयप्रति जिज्ञासु कन्टेन्ट क्रिएटर हुन् । उनले सार्वजनिक बहस सञ्चालन, वृत्तचित्र निर्माण, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व, नीतिगत अभियानमा स्थानीय सरकारसँग सहकार्यलगायतका गतिविधि गर्दै आएका छन् । युट्युब र डिजिटल प्लेटफर्ममार्फत हजारौं दर्शक र प्रयोगकर्तासम्म पुग्ने कार्यक्रमको निर्माण तथा सह–नेतृत्वमार्फत उनले युवालाई संवाद, आलोचनात्मक सोच र नेतृत्वमा सशक्त बनाउँदै आएका छन् ।
पुरस्कार विजेताको छनोट निर्णायक समितिले उपलब्धि, सिर्जनात्मकता, सामाजिक प्रभाव र कार्यको दिगोपनाका आधारमा गरेको थियो । निर्णायक टोलीमा कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य र युरोपेली संघका चार्ज डी’अफेयर्स थोमस मिलरसमेत थिए ।
कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी, युवा नेता, कलाकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । यस वर्षको कार्यक्रम गोल्छा ग्रुपको शीर्षक साझेदारीमा सञ्चालन गरिएको हो भने युरोपियन युनियन, भारतको दूतावास, प्लान इन्टरनेसनल लगायतका संस्थाहरू रणनीतिक साझेदारका रूपमा जोडिएका थिए ।