सुनको किस्तीमा राखेर हिराले सजाएर कोही कसैले पार्टीलाई बहुमत दिँदैन : कल्याण गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका प्रमुख कल्याण गुरुङले संसदमा बहुमत हासिल गर्न पार्टीले अब ढिलो नगरी उम्मेदवार घोषणा गरेर मतदातामाझ जानुपर्ने स्पष्ट सन्देश दिएका छन् । उनले भने, 'आरामदायी क्षेत्रको अल्छी पारा तोडेर निरन्तर कडा परिश्रम नगरेसम्म बहुमत असम्भव रहेको गुरुङले बताएका छन् ।'

गुरुङका अनुसार संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीअनुसार प्रतिनिधिसभाका १६५, प्रदेशसभाका ३३० र ७५३ स्थानीय तहमा सबै उम्मेदवारको नाम तत्कालै सार्वजनिक गरेर मैदानमा उत्रिनु नै बहुमतको पहिलो शर्त हो । करिब दुई वर्ष कार्यकाल बाँकी छँदै उम्मेदवार घोषणा गर्दा खर्च बढ्ने भन्ने बुझाइलाई उनले अल्छीहरूको बहाना र क्षणिक भ्रम भन्दै खारेज गरेका छन् ।

'सुनको किस्तीमा राखेर हिराले सजाएर कोही कसैले पार्टीलाई बहुमत दिँदैन, कांग्रेसको आफ्नै पौरख र निरन्तर मेहनतले मात्र बहुमत आउने हो,' गुरुङले कटाक्ष गरेका छन् । उनका अनुसार यदि आगामी चुनावमा पार्टीले बहुमत ल्याउने हो भने पुरानो ढिला–सुस्तीको संस्कार तोडेर अग्रगामी सोचसहित अघि बढ्ने हो भने चाँडै उम्मेदवार घोषणा गर्नु सरल, सहज र प्रभावकारी बन्नेछ ।

Share News