काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर गोदाममा भण्डारण गर्ने व्यापारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी रहेका छन् । उनलाई पक्राउ गरी मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले भदौ १२ गते गरेको अनुगमनका क्रममा चौधरीको गोदाममा अनुदानको मल फेला परेको थियो । त्यसपछि मल शिलबन्दी गरी अनुसन्धान अघि बढाइएको हो ।
सर्वदलीय छलफलपछि उक्त मल किसानलाई वितरण गर्ने निर्णय भएको छ । निर्णयअनुसार वडा नं. १ देखि ७ सम्मका किसानलाई १७५ बोरा मल वितरण गरिने भएको छ । इलाका प्रहरी कार्यालयमार्फत मल सम्बन्धित वडामा पुर्याइएको डीएसपी बजगाईंले बताए ।
नगरपालिकाले वितरण गर्ने मलको मूल्य प्रतिबोरा एक हजार रुपैयाँ तोकिएको छ । किसानबाट संकलन हुने रकम राजस्व खातामा जम्मा गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ ।