काठमाडौं । चार करोड २५ लाख रुपैयाँ र ९ किलो सुनसहित गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइने भएको छ । प्रहरीले उनलाई बरामद रकम र सुनसहित राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाउने तयारी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार श्रेष्ठको कसुरलाई प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले सो स्थानमा पठाउन लागिएको हो ।
मंगलबार प्रहरीले श्रेष्ठको घरमा छापा मारेर ठूलो मात्रामा रकम र मूल्यवान धातु बरामद गरेको थियो । बैंकको मेसिन प्रयोग गरी रकम गणना गर्दा करिब ४ करोड २५ लाख रुपैयाँ भएको पुष्टि भएको थियो ।
साथै, सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम र चाँदीका गरगहनाहरू ३ किलो २१८ ग्राम बरामद भएको छ । प्रहरीले पक्राउ परेका श्रेष्ठ मिटरब्याजी रहेको दाबी गरेको छ ।
काठमाडौं महानगरपालिका–२६, गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको बताइएको छ । ठूलो मात्रामा अवैध रकम लुकाइएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो ।