काठमाडौं । नेपालको पहिलो अत्याधुनिक नागढुंगा सुरुङमार्ग दसैंअघि नै सञ्चालनमा आउने भएको छ । भौतिक प्रगति ९४.५ प्रतिशत भएसँगै सडक विभागले यसको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि विशेषज्ञ सेवा प्रदायकको खोजी सुरु गरेको छ ।
दसैंअघि नै बोलपत्र आह्वान गरी डिसेम्बरभित्र सेवा प्रदायक छनोट गरिने विभागले जनाएको छ । त्यसपछि २ महिनाको परीक्षण अवधिपश्चात् सुरुङमार्ग सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिनेछ ।
सुरुङमार्गको दिगो मर्मतसम्भार र सञ्चालनका लागि सवारीसाधनबाट उपभोग दस्तुर (टोल शुल्क) लिने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले यसलाई २०८२ साउन २६ गते नै स्वीकृति दिइसकेको छ । टोल शुल्क संकलनका लागि आरएफआइडी (रेडियो फ्रिक्वोन्सी आइडेन्टीफिकेसन) मा आधारित अत्याधुनिक इलेक्ट्रोनिक प्रणाली प्रयोग गरिनेछ ।
यस प्रणालीमार्फत सवारीसाधनको विन्डशिल्डमा टाँसिएको आरएफआइडी ट्यागबाट सिधै बैंक खाताबाट टोल भुक्तानी गर्न सकिनेछ ।
यसले भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी बनाउने विभागको विश्वास छ । सुरुङमार्गको २४सैं घण्टा सञ्चालन, आपत्कालीन उद्धार, आगलागी नियन्त्रण, पावर सप्लाई, लाइटिङ, भेन्टिलेसन, इमर्जेन्सी फ्यासिलिटी, फायरफाइटिङ लगायतका उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित मर्मतसम्भारका लागि दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय अनुभव आवश्यक पर्नेछ ।
यसका लागि जापानी परामर्शदाताद्वारा तयार पारिएको निर्देशिका र मापदण्ड विभागबाट स्वीकृत भइसकेका छन् । अर्थ मन्त्रालयबाट स्रोतको सहमति र मन्त्रिपरिषद्बाट आवश्यक खरिद निर्देशिका पनि स्वीकृत भइसकेको छ । हाल लागत अनुमान र नमूना बोलपत्र तयारीको काम तीव्र गतिमा भइरहेको छ ।