काठमाडौं । हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन कात्तिक १७ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ-२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।
उक्त कार्यतालिका अनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए । विसं २०७९ मङ्सिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठहरिएपछि उपनिर्वाचन हुने भएको उनले बताए ।
उम्मेदवारको मनोनयन दर्ताका निम्ति आगामी असोज २१ गते निर्धारण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी भदौ २० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २५ मा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली र चिह्न वितरणको विवरण प्राप्ति, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति गर्ने तालिका निर्धारण गरिएको छ ।
प्रदेशसभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन हुने तालिकासहित जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साथै आयोगबाट देशभर अद्यावधिक भई २०८२ साल भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट यही कात्तिक १६ गतेलाई तोक्ने निर्णयसमेत आयोगबाट जानकारी प्राप्त भएको छ ।
गत निर्वाचनमा जिल्लामा ६ हजार ७७९ कुल मतदाता रहेका थिए । कुल मतदातामध्ये ४ हजार ८४५ अर्थात् ७१.४७ प्रतिशत मत खसेको थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को ४ हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिए । गत निर्वाचनमा प्रदेशसभा सदस्य पदमा गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्य पदका लागि मात्र मतदान भएको थियो ।
निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन
आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारी (सिडिओ ) नवराज पौडेलले निर्देशन दिए । उनले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्वार्टरको निरीक्षणका क्रममा सिडिओ अधिकारीले आसन्न निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।
निरीक्षणमा नव निर्मित भवनमा रहेका प्रशासन, अपराध अनुसन्धान, प्रबन्ध, सञ्चार, महिला तथा बालबालिका, अन्वेषण तथा योजना शाखा, नागरिक सहायता कक्ष, हिरासत कक्ष, प्रहरी ब्यारेक र कर्मचारीको अवस्थाबारे जानकारी लिएका छन् ।
प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, अभिलेख व्यवस्थापन, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्था र निर्वाचन सुरक्षाबारे विस्तृत प्रस्तुति दिनुका साथै निर्वाचनको तयारीका बारेमा जानकारी गराए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक ध्रुव रेग्मीले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रशासनिक तथा अपरेशनल गतिविधि, विपद् व्यवस्थापन रणनीति, सीमा सुरक्षासम्बन्धी चुनौती, भावी योजना तथा निर्वाचन विशेष सुरक्षा योजनाबारे विस्तृत जानकारी प्रस्तुत गराए ।