विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष जुट भन्छन्- रोजगारी सिर्जना गर्ने लगानी ल्याउँछौं

काठमाडौं । विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहान्स जुटले नेपालमा आफ्नो पहिलो औपचारिक भ्रमण सम्पन्न गरेका छन् । 

पाँच दिनको भ्रमणका क्रममा उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलसँग भेटवार्ता गरे ।

जुटले १० वर्षपछि शान्ति सुदृढीकरण, सेवासुविधा सुधार, बिजुली अभावको अन्त्य, २०१५ को भूकम्प र कोभिड महामारीबाट पुनःस्थापना लगायतको प्रगतिलाई प्रत्यक्ष देख्नु साँच्चिकै खुशीको कुरा भएको बताए ।

भेटवार्तामा जुटले नेपालका लागि विश्व बैंक समूहको नयाँ ‘देश साझेदारी ढाँचा’बारे छलफल गरेका थिए जुन पूर्ण रूपमा सरकारको १६औं योजनासँग समन्वयमा छ र नेपालका दुई मुख्य विकास चुनौतीहरू रोजगारी सिर्जना र विपद् प्रतिरोधमा केन्द्रित छ ।

देश साझेदारी ढाँचाअन्तर्गत २०२५ देखि २०३१ सम्म विश्व बैंक समूहले करिब २.७ अर्ब अमेरिकी डलर उपलब्ध गराउने लक्ष्य राखेको छ । यसमा प्रमुख उद्देश्य भनेको व्यवसाय वातावरण सुधार गरी प्रतिस्पर्धात्मकता र लगानी बढाउँदै, पर्यटन र डिजिटल विकासमा समेत लगानी गरी थप र गुणस्तरीय रोजगारी सिर्जना गर्नु हो ।

जुटले नेपालमा प्रत्येक वर्ष करिब ५ लाख युवा श्रम बजारमा प्रवेश गर्ने बताउँदै रोजगारी सिर्जना गर्न लगानी ल्याउने कार्यमा केन्द्रित रहने उल्लेख गरे ।

जुटले १ जुलाई मा विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्षको पद सम्हालेका हुन् । उनी २०१३ देखि २०१५ सम्म विश्व बैंकका लागि नेपालका कन्ट्री डाइरेक्टर पनि रहिसकेका छन् ।

Share News