काठमाडौं । नेपाल ल्युब आयलले हालै पोखरामा आयोजित वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । रेडीफाइन योर लिमिटस भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा देशभरका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, कम्पनी सञ्चालक समिति तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी वर्षका लागि रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो । त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरलाई विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ ।
सोही अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गर्यो । महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को टिम अफ द टुर्नामेन्ट मा स्थान बनाउन सफल हुँदै एसोसिएट राष्ट्रबाट यो सम्मान पाउने एकमात्र खेलाडीको रूपमा इतिहास रचेकी थिइन् ।
कम्पनीका अनुसार महतोको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याइरहेको छ र यो सहकार्यले कम्पनीसँगै सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।
ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि महतोले गल्फजस्तो विश्वव्यापी प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले आफूलाई मात्र होइन, भविष्यका महिला क्रिकेटरलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।