देशभर कर्फ्यू आदेश, बिहीबार बिहान ६ बजेसम्म जारी रहने

जनजीवन शन्तिपूर्ण बनाउने प्रयास

काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आदेश लागू गरिएको सेनाले जनाएको छ ।

आजका लागि साँझ ५ बजेसम्म कर्फ्यू रहने र त्यसपछि पनि निरन्तर भोलि बिहान ६ बजेसम्म आदेश जारी रहने सेनाको विज्ञप्तिमा उल्लेख छ ।

सेनाले आन्दोलनको नाममा अराजक व्यक्ति र समूहले सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि गर्दै आएको भन्दै यसलाई नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको स्पष्ट पारेको छ ।

यस्तै, व्यक्ति लक्षित हिंस्रक आक्रमण तथा बलात्कार प्रयासजस्ता आपराधिक गतिविधि हुने वा हुनसक्ने सम्भावना पनि रहेको सेनाले जनाएको छ ।

आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी तथा आक्रमणलाई दण्डनीय अपराध मानी कडा कारबाही गर्ने चेतावनी सेनाले दिएको छ ।

निषेधाज्ञा तथा कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन सञ्चालनमा कुनै रोकताेक नहुने जनाएको छ । आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ ।

यस्तै, सम्पूर्ण अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न सेनाले आग्रह गरेको छ ।

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सेनाले निरन्तर दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

Share News