काठमाडौं । जिल्ला कारागार धादिङमा कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली प्रहार गरेको छ ।
सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । धादिङ अस्पतालका अनुसार घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर छ भने पाँच जनालाई सामान्य चोटपटक लागेको छ ।
प्रहरीका अनुसार आन्दोलनरत कैदीहरूले कारागार तोडेर भाग्न खोजेपछि नियन्त्रणका लागि नेपाली सेनाले गोली चलाउन बाध्य भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनको पृष्ठभूमिमा बुधबार नख्खु कारागारबाट रिहा भएपछि देशभरका कैदीबन्दीहरू आन्दोलित बनेका छन् । उनीहरूले ‘रविलाई छाडिएको छ, अब हामीलाई पनि छाड्नुपर्छ’ भन्ने मागसहित जेल तोड्ने प्रयास गरिरहेका छन् ।
धादिङ कारागारका कैदीहरूले पनि रविको रिहाइलाई उदाहरण दिँदै जेल तोड्ने प्रयास गरेका थिए । बुधबार बिहानैदेखि कारागार परिसर तनावग्रस्त बनेको थियो ।
कारागारभित्रै कैदीबन्दीहरूले आगजनी गरेका थिए भने बाहिर पनि भिड जम्मा भई हुलदङ्गा सुरु भएको थियो । यद्यपि, परिसरबाहिर सुरक्षाकर्मीहरू बाक्लो रूपमा तैनाथ थिए। कारागारको छतमा समेत सुरक्षाकर्मीले तुरुन्तै मोर्चा सम्हालेका थिए ।
मंगलबार रातिदेखि नै नेपाली सेनाको ठूलो टोली कारागार सुरक्षार्थ तैनाथ गरिएको थियो । सेनाले अहिले पनि कारागार परिसरको सुरक्षा सम्हालिरहेको छ ।
