जेन्जी आन्दोलन सत्यतथ्य उजागर गरेर मात्र निष्कर्षमा पुग्छ : माधव ढुङ्गेल

काठमाडौं । नेकपा (एमाले) का संगठन विभाग सचिव माधव ढुङ्गेलले हालको समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले एमालेलाई लामो इतिहास बोकेको, संघर्षको मैदानबाट आएका करिब सात लाख सदस्य भएको जिम्मेवार राजनीतिक शक्ति भएको उल्लेख गर्दै, 'हामी जस्ता सुकै अप्ठ्यारो अवस्थाको पनि व्यवस्थित ढंगले समाधान खोज्दै आएका छौँ,' भने ।

ढुङ्गेलका अनुसार राष्ट्रिय स्वाधीनताको क्षेत्रमा एमालेले खेलेको भूमिका ऐतिहासिक र गौरवपूर्ण रहँदै आएको छ, जसलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । वर्तमानमा चर्चामा रहेको जेन्जी आन्दोलनबारे बोल्दै उनले भने, 'जेन्जी भनेका हाम्रा घरका भाइबहिनी, छोरा–छोरी हुन् । उनीहरूले खोजेको सुशासन र पारदर्शिता नै हाम्रो पनि मुद्दा हो ।'

भदौ २३ र २४ गते भएका घटनाबारे उनले स्पष्ट छानबिन हुनुपर्ने औंल्याउँदै, 'घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कडा भन्दा कडा कारबाही हुनैपर्छ,' भनेका छन् । ढुङ्गेलका अनुसार यस विषयमा पार्टीको आधिकारिक धारणा महासचिवको वक्तव्यमार्फत सार्वजनिक भइसकेको छ, र आफूले त्यसकै वरिपरि आफ्ना विचारहरू प्रस्तुत गर्ने गरेको स्पष्ट पारे ।

उनले थपे, 'पार्टीको आधिकारिक धारणा बाहेक अन्य कुनै समाचारमा मेरो नाम जोडेर प्रसारण भएको भए त्यो मेरो विचार होइन ।'

Share News