अर्थ मन्त्रालयले गुमायो ‘प्रिफ्याब’ भवनसहित दर्जनौँ सवारी साधन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयले ठूलो क्षति व्यहोर्नुपरेको छ । मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार अर्थ मन्त्रालयको बजेट महाशाखा रहेको ‘प्रिफ्याब’ भवन पूर्णरूपमा क्षति भएको छ ।

अर्थ मन्त्रालयका १६ वटा चारपाङ्ग्रे सवारी साधन, ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर पूर्ण रूपमा क्षति भएका छन् । आन्तरिक राजस्व विभाग मातहतका दमक, इटहरी, विराटनगर, लाहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेल्धुरा र पोखरास्थित आन्तरिक राजस्व कार्यालयहरू पूर्णरूपमा क्षति भएका छन् । त्यसैगरी कृष्णनगर र धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालयहरू तथा इलाम र सिन्धुलीस्थित करदाता सेवा कार्यालयहरू आंशिक रूपमा क्षति भएका छन् ।

भन्सार विभाग मातहतका मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालयहरू पूर्ण रूपमा क्षति भएका छन् भने विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी भन्सार कार्यालयहरू आंशिक रूपमा क्षति पुगेका छन्, अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार महालेखा नियन्त्रक कार्यालय मातहतका काठमाडौं उपत्यकाका ३ र उपत्यकाबाहिरका ४ गरी जम्मा ७ वटा कोष तथा नियन्त्रक कार्यालयहरूको भौतिक संरचना क्षतिग्रस्त भएको छ ।

आन्दोलनका क्रममा ठूलो क्षति भए पनि अर्थ मन्त्रालय र मातहतका निकायहरूले आफ्नो सेवा भौतिक रूपमा दिन थालिसकेका छन् ।

प्रवक्ता पाण्डेयले भने, 'मिति २०८२ भाद्र २३ र २४ मा भएको प्रदर्शनबाट मन्त्रालय र अन्तर्गतका निकायहरूमा पुगेको भौतिक क्षतिबाट प्रभावित सेवा तथा राजस्व संकलनलाई सुचारु गर्ने सन्दर्भमा उच्च व्यवस्थापक समूहको बैठक बसेको छ । अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग लगायतका केन्द्रीय निकायहरूको प्रमुख भौतिक संरचना, बजेट, भुक्तानी र राजस्व व्यवस्थापनसँग सम्बन्धित सूचना प्रविधि प्रणाली सुरक्षित रहेका छन् र २०८२ भाद्र २३ देखि रोक्का रहेको भुक्तानी प्रणाली सुचारु गरिएको छ ।'

उनका अनुसार भन्सार कार्यालयहरूबाट भदौ २६ गतेदेखि नै सेवा प्रवाह सुरु भइसकेको छ भने आन्तरिक राजस्व विभाग मातहतको अनलाइन सेवा निरन्तर सञ्चालनमा छ । अर्थ मन्त्रालय तथा मातहतका अधिकांश कार्यालयहरूले आइतबारदेखि भौतिक सेवा पनि सुचारु गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र मातहतका विभाग तथा कार्यालयहरूमा पुगेको क्षतिको थप विवरण संकलन गर्ने कार्य भइरहेको छ । पूर्ण तथा आंशिक क्षति भएका कार्यालयहरूको सरसफाइ कार्य कार्यालय प्रमुखको नेतृत्वमा कर्मचारीहरूले सुरु गरिसकेका छन्, जसले सेवा प्रवाह गर्न सहज वातावरण बनाउन सहयोग पुर्याइरहेको छ ।

सवारी साधन क्षति भएका कार्यालयहरूका लागि अत्यावश्यक सवारी साधन अन्तर–कार्यालयीय समन्वयमार्फत आन्तरिक रूपमा व्यवस्थापन गर्ने व्यवस्था सम्बन्धित विभागका महानिर्देशकले मिलाउने अर्थ मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मातहतका विभाग तथा कार्यालयहरूबाट हुने सेवा प्रवाह सहज बनाउन आवश्यक निर्णय लिन विभागहरूलाई निर्देशन दिइएको छ । साथै सेवा सहज बनाउन अन्य प्रक्रियागत विषय तथा सञ्चालनमा रहेका सूचना प्रविधि प्रणाली सुरक्षित गर्ने जिम्मेवारी पनि सम्बन्धित विभागलाई दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

Share News