काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रको खम्बालाई कत्तै पनि कमजोर पार्न नहुने उल्लेख गरे ।
उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनःसंरचना गर्नेमा शंका रहेको टिप्पणी गरे । पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूको उकुसमुकुस रहेको भन्दै आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनःसंरचना हुनुपर्ने जरुरी देखिएको बताए ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव हुने जिकिर गरे ।
उनले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो। निश्चित मितिमै चुनाव गर्नुपर्छ । पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुनःसंरचना हुन्छ जस्तो मलाई लाग्दैन । जेन–जेड भनिने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव छ । कहिलेकाहीँ भुइँको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको छु ।’
अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधिसभा विघटनलाई गलत निर्णय बताउँदै आएका छन् ।