जेनजी प्रदर्शनमा भएको क्षतिमा सुदूरपश्चिममा १६ करोडको बीमा दाबी

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट सुदूरपश्चिम प्रदेशमा १६ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख केदारनाथ भट्टका अनुसार क्षतिको विवरण अझै पूर्ण रूपमा आइनसकेको हुँदा यो रकम अझै बढ्न सक्ने छ ।

प्रमुख भट्टले भने, ‘बीमा कम्पनीहरूसँगको छलफलको क्रममा हालसम्म १५ देखि १६ करोडको दाबी परिसकेको भन्ने कुरा छ, अझै धेरै दाबी पर्न बाँकी भएको हुँदा यो रकम अझै बढ्ने अनुमान छ ।’

प्रमुख भट्टका अनुसार बीमा प्राधिकरणको केन्द्रीय कार्यालयबाटै बीमा कम्पनीहरूबाट परेको दाबी रकम संकलन भइरहेको छ । 

प्राधिकरणले यसअघि नै असहज परिस्थितिका सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फर्ममार्फत पेस गर्नसमेत निर्देशन दिएका थियो ।

प्राधिकरणले बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्यौट गर्न निर्देशन दिइसकेको छ ।

त्यस्तै, प्राधिकरणले बीमा लेखमा उल्लेख भएको सर्तअनुसार कम्पनीले दाबी भुक्तानी नगरेमा आफूकहाँ उजुरी गर्नसमेत आग्रह गरेको छ ।

Share News