जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरूको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । 

बुधवार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो माग गरेका हुन् ।

उनले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भीर क्षति पुर्याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । 

अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराए । 

उनले भने, ‘आगामी दिनमा जुन सुरक्षा दिने कुरा छ, यो एकदमै महत्त्वपूर्ण छ । जबसम्म सुरक्षाको इन्स्योरेन्स हुँदैन तबसम्म लगानीको सम्भावना छैन । अहिले भएको आगजनी तथा तोडफोडको निष्पक्ष ढंगले छानविन गरेर कारबाही गर्नुपर्छ । २०४६ यताका सबै प्रकारका आन्दोलनमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’

महासंघले उद्योग व्यवसाय सञ्चालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । 

अध्यक्ष ढकालले निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।

Share News