सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ३० गतेदेखि बिक्री खुला गरिएको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आज असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । 

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Share News