काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको ‘दसैं–तिहार–छठ अफर २०८२’ अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित विभिन्न मोबाइल सेवा प्याकेज उपलब्ध गराउने जनाएको छ ।
कम्पनीका अनुसार असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५,०००) पूर्ण रूपमा मिनाहा गरिनेछ ।
यसैगरी जीएसएम सेवामा विशेष डेटा प्याकेजसमेत उपलब्ध गराइएको छ । रु. ४९९ मा ५ जीबी ‘फेस्टिवल अनलिमिटेड’ र रु. ६९९ मा १० जीबी ‘फेस्टिवल अनलिमिटेड प्रिमियम’ डेटा प्याकेज खरिद गर्न सकिनेछ । यी प्याकेजमा प्रतिदिन तोकिएको भोल्युम सकिएपछि पनि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा उपलब्ध हुने ‘जॉयफुल मिनेट्स’ प्याकेज र रु. ९९ मा १००० अन–नेट एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यी प्याकेजको समयावधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन तोकिएको छ ।
जीएसएम सेवाका प्याकेज असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछन् । अफर प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट 14153# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीले विभिन्न चाडपर्वको अवसरमा उपलब्ध गराइने यस्ता अफरहरूले आफन्तसँग खुशी बाँड्न, सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।